मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको सोमबार उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्न पाउने नागरिक अधिकारको रक्षाका लागि जुनसुकै कदम चाल्न सुरक्षा निकायलाई विशेष निर्देशन दिनुभएको हो । पछिल्ला दिनमा मुलुकका विभिन्न क्षेत्रमा उम्मेदवारलाई केन्द्रित गरेर विष्फोटका घटना बढेको सन्दर्भमा प्रधानमन्त्रीले सुरक्षा निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिनुभयो ।

‘जनतालाई निर्भिकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण सिर्जना गर्नु अहिलेको प्रमुख कर्तव्य हो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचन बिथोल्न खोज्ने विप्लवसहित जुनसुकै समूहलाई एक एक गरी पक्राउ गरेर जेल हाल्नुपर्ने आवश्यकता बढेको छ।’ सुरक्षा गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित नेपाली सेनाका उच्च अधिकारीहरू सहभागी हुनुहुन्छ । प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि गोष्ठीमा सहभागीता रहेको छ ।

कार्यक्रममा क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले प्रदेश नम्बर ३ का १३ जिल्लाको सुरक्षा अवस्थाबारे रिपोर्टिङ गर्दै नेकपा विप्लव समूहले चितवन जिल्लालाई हेडक्वार्टरको रुपमा प्रयोग गरेको बतानुभयो । १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्लाका सुरक्षा चुनौतीबारे पनि प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया