शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो–गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगार कल्याणकारी कोषलाई पाँच करोड पुर्याई तत्काल संचालनमा ल्याउने र वैदेशिक रोजगारका समस्या समाधानका लागि गरिनुपर्ने कामको स्वेतपत्र जारी गर्ने जनाएको छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को हालै सम्पन्न आगामी दुई वर्षमा गर्नुपर्ने कार्यहरुको योजना तर्जुमा गर्न बसेको तीन दिने बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता भुषण घिमिरेद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा वैदेशिक रोजगारमा गएकाहरुका लागि संचय कोषमो स्थापना गर्ने अभियानलाई कार्यान्वयनमा ल्याउने र मध्यपूर्व तथा मलेसियामा जेल सजाय भोगिरहेका नेपालीलाई उद्धारको कार्यक्रम संचालन गरिने उल्लेख छ ।
संघका अध्यक्ष भवन भट्टको सभापतित्व वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु संस्थापक अध्यक्ष डा उपेन्द्र महतो पूर्व अध्यक्ष जीवा लामिछाने पूर्व उपाध्यक्ष रामेश्वर साह पूर्व प्रवक्ता डा हेमराज शर्मा लगायतको उपस्थितिमा सम्पन्न बैठकले साउदी अरबमा जन्म कैद भोगिरहेका थानेश्वर भुषाललाई उन्मुक्ति दिलाउन आपत्कालिन राहत कोषबाट १२ लाख ५० हजार सहयोग प्रदान गर्ने निर्णय समेत गरिएको छ ।
नेपालमा लोडसेडिङ कम गर्नका लागि एलइडी बल्बको प्रयोगका लागि अभियान संचालन गर्ने, नेपालको पूर्वाधार विकासमा सहयोग गर्न इन्भेष्टमेण्ट कम्पनी स्थापना गर्ने, नेपालमा लगानी बढाउन र विदेशी नेपालीहरुको लगानीलाई सुरक्षित नाफामूलक बनाउनका लागि बिप्पा सम्झौता, आर्थिक साझेदारी सम्झौता, दोहोरो कर मुक्ति सम्झौता गराउन नेपाल सरकारसँग मिलेर कार्य गरिने लगाएतका निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।
भुकम्प पिडितका लागि गोर्खामा निर्माणधिन ५ सय ८३ घरसहितको लाप्राक नमुनाबस्ती यथासिघ्र सम्पन्न गर्न संघका अध्यक्षको नेतृत्वमा समिति गठन गरिएको, निर्माणाधिन एनआरएन पार्क वैसाखसम्म सम्पन्न गर्ने, २५ करोड लाग्ने संघको कार्यालय भवनको पहिलो चरणको कार्य वैशाखसम्म नै सक्ने, संघले संचालन गर्दै आएका अतिथिदेवो भव, नेपाल फेष्टिवल, नेपाली सामानको प्रवर्धन लगायतका कार्यहरुलाई निरन्तरता दिइने निर्णय गरेको विज्ञप्तीमार्फत जनाइएको छ ।
‘नेपालको संविधानको धारा २९१ ले स्थायी वसोबास अनुमति पाएका नेपाली नागरिकहरुले नेपालमा कुनै पनि पदमा नियुक्ति, मनोनित र निर्र्वािचत हुन नपाउने व्यवस्था गरेको यस्तो व्यवस्थाले गैरआवासीय नेपालीहरुको नैसर्गिक अधिकार हनन भएको तथा गैरआवासीय नेपालीलाई विदेशी नागरिकता लिन प्रोत्साहित गरेकोले उक्त धारा खारेज गर्न राजनीतिक दलहरुलाई अनुरोध गरिने छ’ विज्ञप्तीमा भनिएको छ –संविधानको धारा १४ ले राजनीतिक बाहेक सबै अधिकार आम नेपाली सरह उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था भैसकेको छ । संविधानको उक्त व्यवस्था ऐनमा सुनिश्चित समेत गर्न अनुरोध गरिन्छ ।
गैरआवासीय नेपालीहरुले सिकेको ज्ञान, सीप र नव प्रवर्धनलाई नेपालको विकासमा सदुपयोग गर्न संघले संचालन गर्दै आएका एनआरएनए साइन्स फाउन्डेशन ट्रष्ट लगाएतका कार्यहरु एउटै छाता भित्र संचालनमा ल्याउनका लागि एनआरएनए एकेडेमीको स्थापना गरिने जनाइएको छ ।

[pdf-embedder url=”https://samudrapari.com/wp-content/uploads/2017/11/17-Nov-press-release-NRNA.pdf”]

तपाईको प्रतिक्रिया