शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् ।

माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण शेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको आधारमा हेर्दा साञ्जेन जलविद्युत् आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ । सो आयोजनाले ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

उक्त कम्पनीले माथिल्लो साञ्जेन र साञ्जेन गरी दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कूल क्षमता ५७.३ मेगावाट रहेको छ । सो कम्पनीको साधारण शेयर नागरिक लगानी कोषमार्फत बिक्री गरिनेछ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि आगामी एक महिनाभित्र सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै सो आयोजनाले सीमित साधारण शेयर जारी गर्ने छ । कूल १११ मेगावाट क्षमताको सो आयोजनाले साधारण शेयर जारी गर्ने प्रयोजनका लागि धितोपत्र बोर्डमा गत वैशाख १३ गते नै आवेदन दिइसकेको छ ।  आयोजनाका प्रमुख माधव कोइरालाकाअनुसार साधारण शेयर जारी गर्ने प्रक्रिया अन्तिमचरणमा पुगेको छ । पहिलोचरणमा बिक्री गर्न लागिएको शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीले खरिद गर्न पाउने व्यवस्था छ ।

शेयर संरचनाअनुसार कोषका पाँच लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चयकोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत शेयर बिक्री गरिनेछ । पहिलो चरणमा एक अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्काशन गरिनेछ । यस्तै आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत शेयर बिक्री गर्ने गरी तयारी गरिएको छ । कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमइ र एनसिएम मर्चेन्ट बैंकिङमार्फत साधारण शेयर बिक्री गर्नेछ ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पनि आगामी माघको पहिलो साता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । आयोजनाले सर्वसाधारणका लागि एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । आम नेपालीका लागि कूल शेयरको १५ प्रतिशत, आयोजना प्रभावित दोलखाका जनताका लागि छुट्याइएको १० प्रतिशत साधारण शेयरसमेत आगामी माघमा नै बिक्री गरिनेछ । स्थानीयवासीले दोलखाका सहकारी संस्थामार्फत पनि शेयर खरिद गर्न सक्नेछन् ।

आयोजनाले प्रभावितका लागि जारी पुँजीको १० प्रतिशत अर्थात एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्नेछ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको छ । आगामी आइतबार सुरुङसमेत ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको भौतिक प्रगति ९४ प्रतिशतको हाराहारीमा पुग्ने बताइएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीमध्ये भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पनि रु दुई अर्ब ९४ करोड बराबरको साधारण शेयर जारी गर्ने तयारीलाई अन्तिमचरणमा पुर्याएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि एक अर्ब १७ करोड बराबरको एक करोड सत्र लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्ने तयारी गरिएको छ । दोस्रोचरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका लागि ६० करोड बराबरको साठी लाख कित्ता साधारण शेयर जारी गरिने छ ।

तपाईको प्रतिक्रिया