बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ । मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो, ‘प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ ।’ शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा आज यहाँ आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताउनुभयो ।

उहाँले राजनीतिक दलले निर्वाचनका सन्दर्भमा विद्यालयमा आमसभा, अन्तक्र्रिया, भोजभतेरजस्ता कार्यक्रम राख्न आचारसंहिताले प्रतिबन्ध लगाएको चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयन आयोगले गरिराखेको छ भन्नुभयो । प्रमुख निर्वाचन आयुक्त डा यादवले ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने कुरा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाइसकेका विषय हुन्, अब कार्यान्वयनको खाँचो मात्र रहेको उल्लेख गर्नुभयो ।

¦अभिभावक, शिक्षक÷शिक्षिकाले आफ्ना बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस, र्यालीमा जानु हुँदैन, विद्यालयमा यस किसिमका गतिविधि पनि गर्नुहुन्न भन्ने कुरालाई प्रभावकारी रुपमा भन्नुपर्छ’, उहाँले भन्नुभयो । विसं २०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणामा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाएका थिए ।

११ बुँदे अपिलमा विद्यालय परिसरभित्र तथा पठनपाठनलाई असर पर्ने गरी विद्यालय आसपासमा राजनीतिक गतिविधि नगरौँ, विद्यालय उमेर समूहका बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस तथा र्यालीमा स्वयंसेवकका रुपमा प्रयोग नगरौँ, विद्यालय हाताभित्र हातहतियार प्रदर्शन गर्न, भण्डारण गर्न पूर्णरुपमा निषेध गरौँ, विद्यालयको स्रोत साधन राजनीतिक दलका लागि प्रयोग नगरौँलगायत छन् ।

ती प्रतिबद्धतापत्रमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्माले स्थानीय निकायका निर्वाचनमा १८ जिल्लामा निर्वाचन आचारसंहिता विपरीत निर्वाचनमा विभिन्न सन्दर्भमा बालबालिकाको प्रयोग भएको आयोगको अनुगमनमा भेटिएको जानकारी दिनुभयो ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले निर्वाचनका समयमा विद्यालय र बालबालिकालाई कम प्रभाव पर्न विभागले ध्यान दिएको चर्चा गर्दै निर्वाचनका समयमा दिइने बिदालाई हिउँदे÷बर्खे बिदाबाट कटौती गर्न निर्देशन दिइएको बताउनुभयो । शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले वर्षमा २२० दिन विद्यालय खुल्नुपर्छ र १९२ दिन निर्धक्करुपमा बालबालिकाले पढ्न पाउनुपर्छ भन्ने कुरामा मन्त्रालय सचेत रहेको चर्चा गर्दै प्राकृतिक र मानव सिर्जित समस्याले विद्यालयको पठनपाठनमा आधा आउने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकाका प्राडा जगत तिमल्सिना, नेकपा एमालेका सावित्री भुसाल, माओवादी केन्द्रका नारायण शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयन्त लामाले विद्यालयलाई शान्ति क्षेत्र बनाउन आफूृहरु प्रतिबद्ध रहेको बताउनुभयो । सो अपिल जारी गर्ने संस्थाहरुमा शिक्षाका लागि राष्ट्रिय अभियान, बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान, नेशनल एक्सन एण्ड कोओर्डिनेटिङ ग्रुप, शिक्षा पत्रकार सञ्जाल, शिक्षा पत्रकार समूह, विद्यालय व्यवस्थापन समितिलगायतका छन् ।

सो अवसरमा शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहालले निर्वाचनका समयमा बालबालिकालाई प्रयोग गर्न नहुने आचारसंहितालाई दलहरुले उल्लंघन गरिरहेको चर्चा गर्नुभयो ।

तपाईको प्रतिक्रिया