शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

पोखरा – मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कास्कीमा वाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारबीच द्विपक्षीय भीडन्त हुने देखिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नं १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र वाम गठबन्धनबाट एमालेका पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि सो क्षेत्रबाट दुवैजना एक÷एक पटक निर्वाचित भइसक्नुभएकोे छ ।

मन्त्री थापा दोस्रो संविधानसभा (२०७० साल) कोे निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीलाई २७२ मतले पराजित गरी निर्वाचित हुनुभएको थियो । अधिकारीले भने २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटलाई एक हजार २५१ मतले पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका नेता रवीन्द्र अधिकारी र काँग्रेसबाट वुद्धिजीवी देवराज चालिसेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । अधिकारी २०६४ र २०७० को संविधानसभाको निर्वाचनमा साविक क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भई संसदीय विकास समितिको सभापति समेत बन्नुभएको थियो ।

क्षेत्र नं ३ मा नेपाली काँग्रेसका पुराना नेता शुक्रराज शर्मा र वाम गठबन्धनबाट एमालेका पोलिटब्यूरो सदस्य जगतबहादुर सुनार विश्वकर्माबीच नै प्रतिस्पर्धा हुनेछ । लामो समय कास्की काँग्रेसमा सभापति भई काम गरेका शर्मा २०५६ सालमा राष्ट्रियसभाको सदस्य भई काम गरिसक्नुभएको छ । विश्वकर्मा भने पहिलो पटक प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

यसैगरी प्रदेशसभा १ (क) मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार र वाम गठबन्धनबाट (माओवादी केन्द्र)का दीपक कोइराला, (ख) मा कास्की काँग्रेसका सभापति कृष्ण केसी र वाम गठबन्धनबाट एमालेका जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभा २ (क) मा वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा र काँग्रेसका युवा नेता गुरुप्रसाद बरालका बीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । थापा दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं २ बाट काँग्रेसका शारदा पौडेलसँग पराजित हुनुभएको थियो ।

त्यस्तै सोहि प्रदेशसभा (ख)मा वाम गठबन्धनबाट माओवादी केन्द्रका राजकाजी गुरुङ र काँग्रेसबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दुकुमार थापा चुनावी मैदानमा हुनुहुन्छ । गुरुङ पहिलो संविधानसभामा क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रदेशसभा क्षेत्र नं ३ (क)मा नेपाली काँग्रेसकी नेतृ एवं पूर्व सांसद शारदा पौडेल र वाम गठबन्धनबाट माओवादी केन्द्रका रामजी बरालबीच प्रतिस्पर्धा हुनेछ ।

पौडेल दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्ण थापालाई ३४४ मतले पराजित गरी निर्वाचित हुनुभएको थियो । (ख)मा वाम गठबन्धनबाट एमालेका युवा नेता एवं युवा संघका केन्द्रीय अध्यक्ष राजिव पहारी र काँग्रेसका जिल्ला नेता सिकन्दर कुमार गुरुङबीच प्रतिस्पर्धा हुदैछ ।

निर्वाचनमा नेपाली काँग्रेस, वाम गठबन्धनका एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, नयाँशक्ति पार्टी, विवेकशील साझा पार्टी, नेपाल दलित पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा (वैद्य), जनसमाजवादी पार्टी लगायत दलका ९५ जनाले उम्मेदवारी दर्ता गरेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । कास्कीमा दुई लाख ५५ हजार ४५२ मतदाता छन् ।

तपाईको प्रतिक्रिया