शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताउनुभएको छ । चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको बताउनुभयो ।

अध्यक्ष दाहालले पहिलो संविधानसभाको निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभाको निर्वाचनमा मधेश र पहाड जोड्न सिराहा र काठमाडौँबाट उम्मेदवारी दिएको उल्लेख गर्दै राजनीतिक एजेण्डा सिद्धिएकाले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको धारणा व्यक्त गर्नुभयो ।

बिपी र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने भन्दै उहाँले काँग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु दुवै शीर्ष नेताको अपमान गर्ने काम गरेको बताउनुभयो । अध्यक्ष दाहालले नेपाललाई विकासको गतिमा अगाडि बढाएर नयाँ इतिहास रच्ने बेला आएको छ भन्दै यसमा साथ दिन आम जनसमुदायलाई आग्रह गर्नुभयो ।

पश्चिम चितवनको गीतानगरस्थित बिपी चोकमा भएको सो कार्यक्रममा उहाँले नेपालकै राजनीतिक इतिहास बोकेको यस क्षेत्रका राजनीतिक योद्धाहरुको आफूले सम्मान गर्ने पनि बताउनुभयो । काँग्रेसका केही पुराना नेताको नाम लिँदै उहाँले उहाँहरुको राजनीतिक त्यागको प्रशंसा पनि गर्नुभयो ।

अध्यक्ष दाहालले अबको निर्वाचनमा कसैले पैसाको भरमा निर्वाचन जित्छु भन्ने ठान्छ भने त्यो दिवा सपना वाहेक केहि होइन भन्नुभयो ।

तपाईको प्रतिक्रिया