शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा नेपालीहरुको सामुहिक लगानीमा सञ्चालन भईरहेको एभरेष्ट इन्टर्नेशनल स्कुलले एक भवन खरिद गरेको छ । स्कुल सञ्चालनका लागि भवनको ब्यवस्थापन भएसंगै आउँदो शैक्षिक सत्रदेखि स्कुल अब आफ्नै निजी भवनमा सर्ने भएको छ ।

सन् २०१३ अप्रिलदेखि सुरु भएको स्कुलले हालसम्म आशागाया स्थित भाडाको घरमा पठन पाठन गर्दै आएकोमा विद्यार्थीहरुको बढ्दो चापलाई थेग्न नसकेकोले स्कुलले जग्गासहितको भवन खरिद गरेको हो । सुगीनामी वार्डको ओगिकुबोमा जग्गासहितको भवन ३५ करोड येनमा एभरेष्ट इन्टर्नेशनल स्कुलको नाममा खरिद गरिएको हो । एभरेष्ट स्कुल ब्यवस्थापन समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले एक विज्ञप्ती प्रकाशित गरी उक्त कुराको जानकारी गराउनुभएको हो ।

विद्यालय ब्यवस्थापन समितिका जिम्मेवार अधिकारीहरुको रोहबरमा उक्त खरिद कार्य बुधबार सम्पन्न भएको हो । सोही दिनै भवनको चापी घरधनीले स्कुललाई हस्तान्तरण गरेका छन् ।

स्कुलले खरिद गरेको भवन रहेको जमिनको क्षेत्रफल ४ सय ३ वर्गमीटर (१ सय २२ चुवो) रहेको छ । एभरेष्ट स्कुलमा हाल कक्षा ७ सम्म पढाई भईरहेको छ । उक्त भवन भित्र कक्षा १२ सम्मका लागि पुग्ने पर्याप्त कक्षाकोठा, कवर्ड हल, सभाकक्ष, प्रयोगशाला, कार्यालय, प्रशासनिक कक्ष लगायतका आवश्यकीय पूर्वाधार निर्माण गरिने स्कुलको योजना छ ।

स्कुलले विज्ञप्तीमार्फत स्कुलको स्थापनाकाल देखिनै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने प्रोमोटर, सञ्चालक समितिका सदस्य, सल्लाहकार, शिक्षक-शिक्षिका, अभिभावक, मिडिया, टोकियोस्थित नेपाली राजदूतावास, नेपाल सरकारको सम्बन्धित निकाय, जापानी समुदाय तथा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यबाद ब्यक्त गरेको छ । ’स्कुललाई थप सुबिधा सम्पन्न बनाउन सहयोग गर्नुहुने लगानीकर्ताहरुमा बिशेष धन्यबाद तथा आभार ब्यक्त गर्दछौं’ – बिज्ञप्तीमा भनिएको छ ।

प्रेषित बिज्ञप्तीको पूर्णपाठ : 

 

तपाईको प्रतिक्रिया