व्यवसायी शरद गौचनको हत्या आरोपमा पाँचजना पक्राउ

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिबारे प्रहरीले कुनै परिचय खुलाएको छैन । महानगरीय प्रहरीले अहिले केहीबेरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका सवैलाई सार्वजनिक गर्दैछ । अपरान्ह २ बजे नै पत्रकार सम्मेलन गर्ने भनिएपनि म्याद थपका लागि अदालत लगिएकाले ढिला भएको हो ।

जिल्ला अदालत काठमाडौंले उनीहरुमाथि थप अनुसनधानका लागि ६० दिनको म्याद थप गरेको छ । उनीहरुविरुद्ध सांगठनिक अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ । गत असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको थियो ।

झण्डै एक महिनाको सुक्ष्म अनुसन्धान पछि प्रहरीले आज हत्यामा संलग्न ५ जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गर्न लागेको हो । टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरिय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डीएसपी र एक ईन्सपेक्टर छन् ।

गत असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित आफ्नो निवासबाट निस्किए लगत्तै दुई जनाको समुहले उनलाई गोली प्रहार गरेको थियो । तीन वटा गोली लागेका उनलाई मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित