एमाले नेता एवं पूर्व सञ्चारमन्त्री राईको गाडीमा बम प्रहार

काठमाडौं – भोजपुरमा आज बिहान एमाले नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईको गाडीमा बम प्रहार भएको छ ।

चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेको राईका सञ्चार संयोजक ध्रुव सुवेदीले जानकारी दिनुभयो । बमको छर्रा लागेर निजी सुरक्षागार्ड डिल्ली देवकोटा घाइते भएका छन् । प्रतिकारमा सुरक्षागार्ड देवकोटाले १४ राउण्ड हवाई फायर गरेका छन् ।

बम प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीत नारायण चौधरीले बताउनुभयो । यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेशसभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि भएको साङ्घातिक आक्रमणको भत्र्सना गर्नुभएको छ ।

निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमणलाई आफ्नो पार्टीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएको ओलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित