बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरी संगठनका सदस्यको निष्पक्ष भूमिकाबारे आशंका बढिरहेको बेला प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले उपत्यका र प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीलाई बोलाएर कुनै दलको पक्षमा नलाग्न निर्देशन दिनुभएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार प्रमुख असईदेखि एआइजीसम्म र प्रहरी प्रधान कार्यालयका अधिकारीलाई प्रहरी क्लबमा भेला पारेर कुनै कर्मचारी दलविशेषको पक्षविपक्षमा लाग्दा संगठनकै बदनामी हुने भएकाले निर्वाचन सुरक्षामा निष्पक्ष भएर खटिन निर्देशन दिनुभएको हो ।

ब्रिफिङमा सहभागी प्रहरी अधिकारीका अनुसार उहाँले पटक–पटक कुनै दल र उम्मेदवारको पक्षमा नलाग्न निर्देशन दिदैं निर्देशनको अवज्ञा भए प्रहरी नियमावलीअनुसार कारवाही हुने चेतावनी दिनुभएको थियो ।

संगठनले खटाएको स्थानमा नजान र आफू अनुकुलको क्षेत्रमा जान नेताहरुलाई फोन गर्न लगाउनेजस्ता गतिविधि नगर्न सचेत गराउँदै उहाँले अनुशासनमा बसेर संगठनले खटाएअनुसारको काम गर्न निर्देशन दिएको ब्रिफिङमा सहभागी एक प्रहरी अधिकारीले बताए ।

आफू अनुकुलको सरुवा गराउन संगठनभन्दा पनि बलियो देखिने तर संगठनलाई पर्दा केही नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उहाँले संगठनका माथिल्ला तहका प्रहरी अधिकारीको व्यवहारको समेत आलोचना गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया