जापानको नेपाली समाज

पछिल्ला केही वर्षयता जापानमा नेपालीहरुको संख्यामा आएको बढोत्तरीसंगै नेपाली समाजको दायरा पनि फराकिलो बन्दै गएको छ । आधा लाख भन्दा बढि जनसंख्या रहेको जापानको नेपाली समाजलाई दिशा निर्देश गर्ने, अनुगमन तथा पर्यवेक्षण गर्ने र एउटा निश्चित दायराभित्र नियमन गर्ने कुनै निकाय वा संयन्त्र छैन । नेपालीहरुको संख्यामा आएको बृध्दीदरलाई हेर्दा अबको एकाध वर्षमै लाख पुग्ने देखिन्छ । बढ्दो नेपालीहरुको संख्यासंगै समस्याहरु पनि त्यसरी नै बढिरहेका छन् ।

जापानको वर्तमान नेपाली समाजलाई केही वर्ष अगाडिसंग तुलना गर्दा अहिलेको समाज धेरै छिरलिएको अवस्थामा पुगेको छ । हाम्रो साझा परिचय नेपाली भनेर मात्र हामी पुरै रमाउन नसक्ने भएका छौं । वैचारिक, साम्प्रदायिक, पेशागत, क्षेत्रीय, भेगीय, हुंदै अब जिल्ला, गाबिस, वडा र टोल सम्मका संघसंस्थामा विभाजित भएर सानो सानो झुण्डमा रमाउन थालेका छौं । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष आफ्नो ठाउँमा अवश्य होलान् यसबारेमा छुट्टै बहस होला । तर जसरी जापानमा संघसंस्थाहरु थपिने क्रम तिब्र गतिले बढिरहेका छन् त्यसरी नै उनीहरुले आयोजना गर्ने कार्यक्रमको प्रकृति, प्रभावकारिता र गतिशिलता भने सन्तोषजनक मान्न सकिने अवस्था छैन । अधिकाँशको रोजाई एउटै प्रकृतिको मनोरञ्जनप्रधान कार्यक्रम हुनु, बिना तालमेल कार्यक्रमको तिथिमिति निर्धारण गरिनु, हचुवाको भरमा पुरा गर्न नपर्ने कार्यक्रमको उद्देश्य तोकिनु, कार्यक्रमका लागि स्पोन्सर उठाउने प्रवृत्तिलाई फेशनकारुपमा मलजल गरिनु, कार्यक्रमबाट संकलित आय ब्यय बेलैमा सार्बजनिक गर्ने बारे जिम्मेवारी बोध नहुनु, कार्यक्रमका लागि कार्यक्रम गर्ने प्रचारमुखी प्रवृत्ति हावी हुनु जस्ता क्रियाकलाप जापानको नेपाली समुदायमा पछिल्ला समयमा बाक्लै देखिन थालेका छन् । यसप्रकारको गतिबिधिले नेपाली समुदायबिच एकातिर अस्वस्थ्य प्रतिस्पर्धा सिर्जना गर्दछ भने अर्कोतिर मेलमिलाप र एकतालाई खलल पुर्‍याउँदछ । यो चिन्ताको बिषय पनि हो ।

सबै संघसंस्थाहरुको स्रोत, शक्ति र साधन मनोरञ्जनजन्य कार्यक्रमहरुमा मात्र केन्द्रित भईदिंदा अन्य महत्वपूर्ण बिषयहरु पुरै ओझेलमा परेका छन् । बौध्दिक तथा ज्ञानबर्धक कार्यक्रमहरुमार्फत समाजमा चेतनाको स्तर अभिबृध्दि गर्ने, रोजगारी तथा उद्यमशिलताको अवसरहरु सिर्जना गर्ने, हरेक नागरिकलाई मुलुकप्रतिको दायित्वबोध गराउने, प्रवासका समस्यालाई कसरी मिलेर सामुहिकरुपमा समाधान गर्न सकिन्छ भनेर गहन छलफल गर्ने जस्ता बिषयमा समाजको खासै ध्यान जान सकेको देखिदैंन । यतातिर समाजका जिम्मेवार अगुवाहरुको बेलैमा ध्यान जान आवश्यक छ ।

स्वास्थ्य सम्बन्धि पर्याप्त ज्ञानको अभावमा थुप्रै नेपालीहरु जापानमा महंगा उपचार गर्न बाध्य छन् । उनीहरुलाई स्वास्थ्य लगायतका अन्य उपयोगी बिमाहरुका बारेमा परामर्श सेवाको आवश्यक छ । भाषा लगायत अन्य विविध कमजोरीका कारण ठूलो संख्याका नेपालीहरु अधिकारले पाउने जापानको सबै सेवा सुबिधाहरु उपभोग गर्न सकेका छैनन् । उपयुक्त सल्लाह सुझावको अभावमा नयाँ विद्यार्थी पुस्ताका जल्दाबल्दा युवा जमात धमाधम गलत निर्णयको शिकार भईरहेका छन् । बेलैमा उनीहरुलाई सही सल्लाह दिने हो भने यो क्रमलाई धेरै हदसम्म रोक्न सकिन्छ ।

जापानको नेपाली समुदायको ठूलो हिस्सा स्वरोजगारीको अवधारणा अनुसार अब ब्यवसायिकरणतर्फ अगाडि बढिसकेको छ । यो राम्रो पक्ष हो । यद्यपि एकल ब्यवसायमा हुने जोखिम र लगानी क्षमता उनीहरुका लागि चुनौती बनेका छन् । सामुहिक ब्यवसायको अवधारणा अझै बिकास हुन सकेको छैन । सफल एवं स्थापित ब्यवसायीहरु र नवउद्यमीहरुबिचको दूरी घटाउने अभ्यासहरु हुन सकेका छैनन् । यी र यस्ता बिषयहरुमा पनि अब यहाँको नेपाली समुदायमा गम्भीर ढंगले बहस हुन जरुरी देखिन्छ । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित