बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कमिटिले संस्थाको नीति विपरित कार्य गरेको भन्दै बहुमत सदस्यहरुको निर्णयबाट संयोजक लक्ष्मण बानियाँलाई कारबाही गरी निष्काशित गरेको जनाएको छ ।
कमिटिको सोमबार कार्यबाहक संयोजक देवराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकबाट बहुमत सदस्यहरुको निर्णयले बानियाँलाई असक्षम ठहर गर्दै संस्थाबाट निश्कासन गरेर उप्रेतीलाई संयोजकमा चयन गरिएको एक विज्ञप्ति मार्फत जनाइएको हो ।
विज्ञप्तिमा समाजमा भएको नराम्रा गतिबिधिको अन्त्य गर्ने, आपतमा परेकाहरुलाई सरसहयोग  गर्ने  नेपालीे संस्कार संस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको सामाजिक संस्थामा अध्यक्ष बानियाँले केन्द्रीय समितिले दिएको अख्तियारको दुरुपयोग गर्दै आफ्नो पक्षधरलाई मात्र बैठकमा बोलाएर एकल निर्णयले गरेको, व्यक्तिगत रिसिबिका कारण समाज भड्कने खालका गतिविधिमा संलग्न भएको, ब्यक्तिबादी चरित्र हाबी गरेको र असामाजिक गतिबिधि बढाउदै लगेको आरोप लगाएर कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘जापानको केन्द्रीय कमिटि र क्षेत्रीय संयोजकले सबैलाई मिलाएर लैजानुको सट्टा समाज भड्काउने खालका असंबैधानिक गतिबिधिप्रति चौतर्फी बिरोध भैरहेको छ’ विज्ञप्तीमा भनिएको छ –बैठकले गरेको निर्णय बमोजिम निर्वाचन प्रक्रियामा भएको कमीकमजोरीलाई सुधारको मागलाई केही हदसम्म सम्बोधन गरेको र उक्त विवाद केन्द्रीय कमिटीले सबैलाई मिलाएर गैसकेको अवस्थामा त्यसलाई पूर्णत अस्वीकार गरेकाले बानियांलाई बहुमत सदस्यको निर्णयबाट  निष्काशन गरिएको हो ।

संयोजक बानियांले लामो समयदेखि नियमित बैठक माग गर्दा समेत बैठक स्थगित गरी विपक्षीप्रति लक्षित गर्देै असंवैधानिक कदमको जवाफ स्वरुप बानियांलाई निस्काशन गर्न बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति जारी गर्नेहरुमा छत्र दाहाल, किरण बर्मा, देवराज उप्रेती, नवराज गौतम, शिशिर ज्ञवाली, दिलेन्द्रप्रसाद जोशी, आशिस खड्की, प्रेम गुरुङ र पंकज बजगाई रहेका छन् ।
यता यो समाचार तयार पार्ने बेलासम्म आरोपित बानियाँको कुनै प्रतिक्रिया आइसकेको छैन । *** 

तपाईको प्रतिक्रिया