शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो- गैर आवासीय नेपाली संघ (एनआरएनए) ले उज्यालो नेपाल कार्यक्रम अन्तर्गत १ लाख ५० हजार एलइडी बल्ब नेपालका लागि दिन सुरु गरेको अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।

नेपालमा हालको उर्जा संकटलाई न्युनिकरण गर्नका लागि नेपाल सरकारसँगको सहकार्यमा एलइडी बल्ब उपलब्ध गराएर २ सय पचास मेगावाट विद्युत बचत गर्ने योजनाका साथ उक्त कार्यको सुरु गरिएको अध्यक्ष भट्टले बताउनुभयो ।

उहाँले गैर आवासीय नेपालीहरुसँग रहेको सीप क्षमता र पूजिँको अधिकतम उपयोग गर्नका लागि नेपाल सरकारसँग सहकार्य गर्दै जाने र अबको दुई वर्षमा तीन सय मेगावाट विद्युत उत्पादन गर्न आफु लागिपर्ने बताउनुभयो ।

टोकियोमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरुका लागि आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले संघले तय गरेका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि जापानबासी गैर आवासीय नेपाली तथा पदाधिकारीहरुको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले समृद्ध नेपालका लागि राज्यले तय गरेका नीति तथा कार्यक्रमभित्र रहेर संघले सहकार्य गरेमा छिट्टै नै राम्रो प्रतिफल निस्कने बताउनुभयो । उहाँले नेपालीले विदेशमा रहंदा सिकेको सीप र क्षमतालाई स्वदेशमा प्रयोग गर्नेतर्फ संघले आफ्ना कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाको स्वागत मन्तव्यका साथै प्रवासी नेपाली मञ्च जापानका कार्यबाहक अध्यक्ष बाबुराम भण्डारी, जन प्रगतिशील मंचका अध्यक्ष हबलचन्द्र लामा, शालिकराम सापकोटा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, आदिबासी जनजाती महासंघका पासाङ शेर्पा, जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी कंडेल, युवा संयोजक सुदन थापा, एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरणबिक्रम थापा लगायतले बोलेका थिए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष भट्ट, प्रवक्ता भूषण घिमिरे, एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरणविक्रम थापा, क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेल, एनआरएनए युवा संयोजक सुदन थापा,आइसिसी सदस्यहरु कपिलदेव थापा, डिलाराम खरेल, दिनेश गुरुङ,केशर गिरी लगायतलाई बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा परशुराम बस्नेतलाई एनआरएनए जापानको प्रवक्तामा नियुक्ति गरिएको छ । एनआरएनए जापानको मनोनित भएका सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो । उपस्थित सहभागीहरुको मनोरञ्जनका लागि विविध नाचगानका कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन एनआरएनए जापानका महासचिव बुद्धी घिमिरेले गरेका थिए भने अध्यक्षता एनआरएनए जापानका अध्यक्ष टासी वांदी लामाले गरेका थिए । ***

तपाईको प्रतिक्रिया