मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

टोकियो– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १० औं अधिवेशनबाट स्रष्टा दिप पाठकको अध्यक्षतामा २०१७–२०१९  का लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।
आइतबार टोकियोमा सम्पन्न ४२ औं साहित्य श्रृङ्खला, १०९ औं लक्ष्मी जयन्ती, १० औं अधिवेशन र कृति विमोचन समारोहबाट पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यक्रमको उद्घाटन मन्तव्य राख्दै नेपाली दूवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपाली समाजमा सचेतना फैलाउन साहित्यले महत्वपूर्ण भूमिका खेल्ने भएकोले साहित्य सृजनामा सर्जकहरुले संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाली साहित्यलाई विश्वस्तरमा पुरयाउनका लागि जापानी लगायत विभिन्न भाषामा नेपाली साहित्यिक कृतिहरुको अनुवाद गर्न आग्रह गर्दै यसका लागि दूतावासले आवश्यक सहयोग पुरयाउने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा अनेसास केन्द्रका उपाध्यक्ष प्रकाश पौडेल माइलाले नेपाली साहित्यलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि स्रष्टाहरुले सृजनाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विदेशमा रहेरपनि नेपाली साहित्यको जगेर्नामा संस्थाले महत्वपूर्ण योगदान पुरयाएको बिचार ब्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, अनेसासका पूर्व अध्यक्ष बेलुकाजी थापा, जनप्रगतिशील मञ्च जापानका उपाध्यक्ष लोकनाथ अधिकारी, जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी कडेंल, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष पदम ठगुन्ना, गायक तथा सर्जक रामकृष्णबम मल्ल,एनआएनए जापानका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, एनआरएन आइसीसी सदस्यहरु केशर गिरी, डिलाराम खरेल लगायतले साहित्य सिर्जना मार्फत समाज परिवर्तनका लागि भूमिका  खेल्न सकिने बिचार ब्यक्त गरेका थिए ।
अधिवेशनले उपाध्यक्षमा गिरिजा गैरे र श्रवण सत्याल, महासचिवमा अरुण पौडेल, सचिवमा जीवन अर्याल, सहसचिवमा रविन शर्मा, कोषाध्यक्षमा सरिता ढकाललाई र्निविरोध निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक डा. कुमार बस्नेतले घोषणा गर्नुभएको थियो ।
त्यसैगरी सदस्यहरुमा रविन्द्र दिखुक्पा, बिमान किराती , आनन्द अधिकारी, सुमित गिरि , हेमन्त गिरी, मिनराज बास्तोला , श्याम शितल     निर्वाचित हुनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा संगिता कुवँर, अर्जुन दृष्टि पौडेल, प्रकृति फुंयाल र सविना रेग्मी चयन हुनुभएको छ ।
अन्य तिन जना भने मनोनीत हुन बाँकी रहेको बताईएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद घिमिरेद्वारा लिखित कविता संग्रह ‘एक्लो विजेता’, प्रकाश पौडेल माइलाद्धारा सम्पादित ‘नेपाली डायस्फोरा; र हरिश कल्पितद्धारा लिखित कथा संग्रह ‘आस्था’ कृतिहरुको विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा बेलुकाजी थापा, दिप पाठक, लोकनाथ अधिकारी, पदम ठगुन्ना, सविन रेग्मी, रामकृष्णबम मल्ल, केशव थापा, संगीता कुवँर, रविन शर्मा, आनन्द अधिकारी, समर्पण गजेल, हेमन्त गिरी लगायतले आफुहरु परदेशमा रहंदाका जीवन भोगाईका भावनालाई विषयवस्तु बनाएर रचना बाचन गरेका थिए ।
कार्यक्रम विष्णुप्रसाद घिमिरेको अध्यक्षता र दिप पाठकको संचालनमा सम्पन्न भएको थियो । ***

तपाईको प्रतिक्रिया