शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले गएको वर्ष भएको अमेरिकी राष्ट्रपतीय चुनावमा कुनै किसिमको हस्तक्षेप नगरेको दोहोर्‍याउनु भएको छ ।

 

एसिया दौडाहामा रहनु भएका अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनाममा भएको एसिया प्यासिफिक सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग विस्तृत साइडलाइन भेटवार्ता गर्नुभएको छ ।

त्यसक्रममा रुसी राष्ट्रपति पुटिनले रुसले अमेरिकी चुनावमा हस्तक्षेप गरेको भनेर लाग्दै आएको आरोपका कारण आफू र आफ्नो देशले अपमान महसुस गरेको बताउनुभएको ट्रम्पको भनाई छ ।

पुटिनले अमेरिकी चुनावमा रुसले कुनै किसिमको हस्तक्षेप नगरेको बताएको ट्रम्पले जानकारी दिनुभयो । ट्रम्पले गएको वर्ष नोभेम्बरमा भएको चुनवामा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्नुभएको थियो ।

रुसले चुनावमा हस्तक्षेप गरेको भनेर आरोप लगाउनु डेमोक्र्याटको मुख्य जागिर नै रहेको ट्रम्पले आरोप लगाउनु भएको छ । तर अमेरिकी गुप्तचर निकायले भने रुसले अमेरिकी चुनावमा ट्रम्पलाई जिताउने गरी हस्तक्षेप वा हस्तक्षेपको प्रयास गरेको यसअघि नै बताउँदै आएको छ ।

अहिले यसविषयमा विशेष काउन्सिलले संघीय जाँच आयोग (एफबिआइ) तथा गुप्तचर निकाय (सिआईए) सँग मिलेर अनुसन्धान गरिरहेका छ । यसक्रममा ट्रम्पको चुनावी अभियानका पूर्व प्रमुखसहित केही अधिकारी विरुद्ध औपचारी आरोप पनि दर्ता भएको छ । ट्रम्पका एक सहयोगीले त रुससँग गोप्य वार्ता गरेको विषयमा आफू जानकारी लुकाएको पनि स्वीकार गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया