शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं –  सामाजिक सञ्जाल ट्वीटर  प्रयोगकर्ताले अहिलेसम्म केवल १ सय ४० अक्षरमा आफ्नो कुरा ट्वीट गर्न पाउँथे । तर अब ट्वीटरले ट्वीटमा अक्षरको सीमा २ सय ८० बनाइदिएको छ ।

यद्यपि,  चिनियाँ, जापानी तथा कोरियाली भाषामा लेख्नेहरुका लागि चाहिँ अक्षरको सीमा अहिले पनि १ सय ४० रहनेछ । किनकि यी भाषामा लेख्नका लागि निकै कम अक्षरको आवश्यकता पर्दछ ।

कम्पनीका अनुसार अंग्रेजी भाषामा लेखिने नौ प्रतिशत ट्वीटमा अधिकतम सीमा १ सय ४० अक्षरको नै उपयोग नै हुने गरेको छ । मानिसहरुले अक्षरको सीमाका कारण धेरैजसो समय आफ्ना ट्वीट सम्पादन गर्दछन् वा अक्षर नपुगेसँगै ट्वीट नै प्रकाशित गर्दैनन् । तर अक्षरको सीमा बढेसँगै ट्वीटरमा ट्वीट गर्नेहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

धेरै हप्तादेखिको परिक्षण पश्चात ट्वीटरले आधिकारिक रुपमा अक्षरको सीमा बढाएको हो । ट्वीटरले गत सेप्टेम्बर देखि २ सय ८० अक्षरको ट्वीटको परीक्षण सुरु गरेको थियो ।

सन् २००६ मा सुरु हुँदादेखि नै ट्वीटरमा १ सय ४० अक्षरको सीमा रहँदै आएको थियो । विश्वमा हाल ३३ करोड मासिक सक्रिय ट्वीटर प्रयोगकर्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया