बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं –  के हो रेटिना ?
रेटिना हाम्रो आँखाको सबैभन्दा भित्री भाग हो । यसलाई क्यामेराको रिलसँग पनि तुलना गर्न सकिन्छ । जसरी क्यामेराले खिचेको फोटो रिलमा बस्छ, त्यसरी नै हामीले हेर्ने हरेक चिजको आकृति सबैभन्दा पहिले रेटिनामा बन्छ । जसलाई दृष्टिनसाले दिमागसम्म पु¥याएपछि मात्र हामीले त्यो वस्तु देक्न सक्छौँ । विश्वमा विभिन्न कारणले गर्दा हुने अन्धोपन भएका व्यक्तिको संख्या लाखौँको संख्यामा छ ।

अन्धोपनको कारण मधुमेह हो कि ?
विश्वमा लाखौँ व्यक्ति मधुमेहका कारण अन्धोपनको सिकार भएको पाइन्छ । मधुमेहले आँखामा असर गरे पनि सुरुवाती अवस्थामा कुनै लक्षण हुँदैन र दृष्टि पनि पूर्णतया नर्मल हुन्छ । यद्यपि, पर्दा खराब हुने क्रम चली नै रहेको हुन्छ । लक्षण नदेखिन्जेलसम्म आँखा जाँच गराउन नजानु डाइबेटिजबाट हुने अन्धोपनको प्रमुख कारण देखिएको छ । त्यसैले आफूलाई मधुमेह भएको थाहा हुनासाथ जति सक्यो छिटो नजिकको आँखा अस्पातलमा गएर आँखा जाँच गराइहाल्नुपर्छ । लक्षण कुर्दा धेरै ढिलो हुन सक्छ ।

सुरुवातमा थाहा पाउन सके दृष्टि बचाउन सकिन्छ । जति ढिलो हुन्छ, उपचार उति नै खर्चिलो र दृष्टि जोगिने सम्भावना कम हुँदै जान्छ । यीबाहेक छिटो–छिटो चस्माको पावर बढिरहनु, आँखा आघिल्तिर कालो धब्बा आउनु र एक्कासि दृष्टि कम हुनु मधुमेहका कारण आँखामा गरेको असरको सूचक हुन सक्छ । एकपटक मधुमेहले आँखाको रेटिना खराब भएपछि पहिलाको जस्तै दृष्टि फर्काउन सकिन्न । तर, समयमै उपचार गर्न सकियो भने जति देख्ने शक्ति बाँकी छ, त्यसलाई जोगाएर साधारण जीवनयापन गर्न सकिन्छ ।

आँखा जाँच गर्नुपूर्व जान्नुस् यी कुरा 

  • आँखाको नानी फुलाएर रेटिना जाँच गर्नुपर्ने भएकाले कम्तीमा आधा घन्टादेखि ४५ मिनेट लाग्छ ।
  • नानी फुलाउने औषधि राखेपछि ४ देखि ६ घन्टा आँखा धमिलो हुने भएकाले एकजना साथी लिएर आउनुपर्छ ।
  • आफूले नियमित खाइरहेको मधुमेहको औषधि वा लगाइरहेको इन्सुलिन लिएर आउने ।
  • आँखा जाँच गर्न आउँदा खाली पेट बस्नुपर्दैन ।

 

डाइबेटिक रेटिनोप्याथीबाट कसरी जोगिने ?

मधुमेहले आँखामा असर गरेपछि नियमित रूपमा चेकजाँच गराइरहनुपर्छ । धेरैले अल्छी मानेर नियमित जाँच नगराउनाले, लक्षण बढेपछि मात्र चेकजाँच गराउने भएकाले पनि यो रोगले ल्याउने जटिलता बढ्दो छ । रगतमा सुगर नर्मल भएर मात्र पनि पुग्दैन । डाइबेटिक रेटिनोप्याथीबाट बच्न रगतमा हुने चिल्लो पदार्थ अर्थात् कोलेस्ट्रोल पनि नर्मल हुनुपर्छ ।

यस्तै, मिर्गौला पनि स्वस्थ हुनुपर्छ । यदि मिर्गौलामा असर गरेको छ भने त्यस्तो व्यक्तिको आँखामा असर गर्ने सम्भावना पनि बढेर जान्छ । स्वस्थ खानपान, मधुमेहको सही नियन्त्रण, शारीरिक व्यायाम, रक्तचापको सही नियन्त्रण, धूम्रपान र मध्यपानबाट टाढा रहने र नियमित आँखा जाँच गर्ने हो भने आँखामा हुने खराबीबाट बच्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया