बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – लोकसंगीतलाई नेपाली संस्कृतिको खम्बाका रूपमा पनि लिने गरिन्छ । लोकसंगीतले नै इतिहासका कैयौँ पाटोलाई बचाइराखेको छ । उसो त लोकसंगीत परिष्कृत हुँदै केही वर्षदेखि व्यावसायिक बन्न पुगेको छ । थुप्रै गायकगायिका उदाएका छन् । यस क्षेत्रमा नयाँ पुस्ताहरूको आगमन पनि तीव्र छ । नयाँ पुस्ताका केही चर्चित अनुहारको यहाँ चर्चा गरिएको छ :

सम्झना लामिछाने, गायिका
‘घरमा पराल बारीमा बन्सो’ बोलको गीत सम्झना लामिछानेको करिअरको टर्निङ प्वाइन्ट नै साबित भयो । उनले ०६८ मा सार्वजनिक भएका आँसु र सालैजो एल्बमले आशातीत चर्चा कमाउन नसके पनि फूल फुलेर पहेँलै भयो गीतले उनलाई लोकप्रिय नै बनाइदियो । जुन गीत उनले रामजी खाणसँग गाएकी थिइन् ।
दिदी, आमा र हजुरबुवाको प्रेरणाले संगीतमा पाइला टेकेको बताउने सम्झनाले दर्जनौँ हिट गीत दिएकी छिन् । चम्पा चमेली, डल्ली डल्ली, सितारा बितारालगायतका गीतमा स्वर भरेकी सम्झनाले पशुपति शर्मा, मिलन लामा, कुलेन्द्र विश्वकर्मा, कुलेन्द्र विश्वकर्मालगायतका गायकसँग सहकार्य गरेकी छिन् ।
अहिलेसम्म दुई सयभन्दा बढी गीतमा स्वर भरिसकेकी सम्झनाले महिनामा कम्तीमा एक दर्जन गीत रेकर्ड गर्दै आएकी छिन् । पछिल्लो समय स्टेजमा पनि निकै रुचाइएकी गायिका हुन् सम्झना । उनले गीत गाउने मात्र नभएर फिल्ममा पनि अभिनय गरेकी छिन् । नारायण रायमाझीको परदेशी र मगर भाषाको एउटा फिल्ममा उनको अभिनय हेर्न पाइन्छ । पछिल्लो पुस्तामा निकै सम्भावना बोकेकी गायिका हुन् सम्झना ।

प्रकाश सपुत, गायक
पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रमा एउटा गीत निकै चर्चामा छ । त्यो हो ‘चरर, बरर, धरर’ । हुन त यो गीत दसैँ र तिहारको सन्दर्भमा लेखिएको र गाइएको छ । तर, यसले जुन खालको प्याट्रन नेपाली लोकदोहोरीमा भित्र्याएको छ, त्यसले
धेरैको मन खिच्न सफल बनेको छ । घरको मूल मान्छे बिदेसिँँदा परिवारलाई पर्ने असर र विदेशको पीडालाई आधुनिक शैलीबाट प्रस्तुत गरिएको यो गीतमा मुटु छुने शब्दहरूको प्रयोग छ ।
गीतको शब्द, संगीत, स्वरसहित अभिनयमा समेत आफैँ देखिएका प्रकाश भन्छन्, ‘गन्धर्व र लोकलयको पुरानो शैलीबाट प्रेरित भएर यो गीतलाई आफ्नो तरिकाले प्रस्तुत गरेको हुँ ।’
प्रकाशले आफ्नो छवि स्थापित गर्नका लागि दर्जनौँ गीत जन्माइसकेका छन् । बागलुङ, धम्जाका प्रकाशले अहिलेसम्म दुई दर्जनभन्दा बढी गीत गाइसकेका छन् । मुसुमुसु नहाँस मायाले, जौ छरेको बारीमा, माकुरमाकुर घुर, भगवान् कसम बिग्रिएँ कान्छी तिम्रै कारण, हरेहरे नारायण, यस्तै छ कहानी परदेशीको उनका केही प्रतिनिधि गीत हुन् । ०६८ सालमा दोहोरी साँझमा गीत गाउन थालेका प्रकाश छोटो समयमा भर्सटायल सिंगरको रूपमा स्थापित भएका छन् ।
लाइभ दोहोरीसँगै स्टेज तताउने कलाकारका रूपमा प्रकाशको खोजी हुने गरेको छ । प्रकाश भन्छन्, ‘प्रायः गीतमा मेरो आफ्नै शब्द, लय, संगीत, स्वर र अभिनय समेट्दै आएको छु । स्टेज कार्यक्रम आफैँ सञ्चालन गर्ने भएकाले पनि महोत्सवहरूमा मेरो माग राम्रो छ ।’
उनले दुई सय गीतमा मोडलिङसमेत गरिसकेका छन् । भन्छन्, ‘मोडलिङमा पनि रुचि छ । सुरुमा रहरले केही गरियो । पछि अफर नै आउन थाल्यो । पशुपति शर्मा, पुस्कल, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मालगायत गायकका लोकप्रिय गीतमा मोडलिङ गरेको छु । थुप्रै चर्चित मोडलसँग काम गरेको छु ।’  उनी जापान, कोरिया, कतार, दुबईलगायत देशमा पुगेर पनि संगीतको स्वाद चखाइसकेका छन् ।

शान्तिश्री परियार, गायिका
गाईलाई दाम्लो, माछीलाई फुर्लुङ्ग बोलको लोकदोहोरी गीत गाएपछि शान्तिश्री परियारको चर्चा एकाएक चुलियो । पशुपति शर्मासँगको उनको सातो फुक झाँक्री बा, मेरो छोरा दुई नम्बरी बन र बुहारी सुत्केरी भइछ बोलको गीतले त लोकदोहोरी पारखीमाझ उनलाई लोकप्रिय नै बनायो । यस्तै गीत उनका लागि देशविदेशका स्टोज तताउन काफी बने ।
अहिलेसम्म दुई सयभन्दा बढी गीत गाइसकेको बताउने शान्तिश्री निकै व्यस्त गायिकाका रूपमा दरिएकी छिन् । रोल्पाकी शान्तिश्रीले ०६८ सालमा घर त तीनतले बोलको गीतबाट संगीत करिअर सुरु गरेकी थिइन् । एकतर्फी मायामा कति पीडा हुन्छ, मुग्लिङको बाटो, सालघारीमा सिसौ, मायाजालमा परे म, मेरो मायामा राजनीति भोलगायत गीत गाएकी शान्तिश्री लाइभ दोहोरीमा निकै अब्बल मानिन्छिन् ।


उनी गीत गाउनकै लागि अस्ट्रेलिया, जापान, कोरिया, दुबई पुगिसकेकी छिन् । स्कुल तहबाटै थुप्रै गायन प्रतियोगितामा भाग लिँदै आएकी शान्तिश्रीले दिनमा तीनवटासम्म गीत रेकर्ड गरेको बताउँछिन् । उनी लोकदोहारी मात्र नभएर आधुनिक र लोकपपमा पनि रुचि राख्छिन् ।

मेक्सम खाती, गायक
पहिलो गीत ‘सानु कहाँ छौ’ले नै संगीत क्षेत्रमा मेक्सम खातीलाई परिचित बनायो । १५ वर्षको उमेरमै उक्त गीत ०६८ मा रेकर्ड गरेदेखि उनी निरन्तर संगीत क्षैत्रमै छन् र स्रोतामाझ राम्रा सिर्जना पनि पस्किरहेका छन् ।
दाङका मेक्समले तीन दर्जनभन्दा बढी गीत गाइसकेका छन् । उनले यसै वर्षको तिजमा गाएको थर्कियो काठमाडौं सहर पनि निकै लोकप्रिय हुन पुग्यो । पछिलो समय मेक्समले लोकदोहारी मात्र नभएर सुगम संगीत र पपगीत पनि गाउन थालेका छन् ।

भन्छन्, ‘मलाई सबै प्रकारका गीत गाउन मन पर्छ । त्यसका लागि तयार हुँदै छु । ब्युटी ब्युटी छ, दुई मानेमा दही, कसमलगायत तिम्रो आँखामा आँसु हेर्न सक्दिनँ म, आई लभ युलगायतका उनका गीत चर्चामा रहे । सानै उमेरमा उनले पूर्णकला बिसी, देवी घर्ती, मुना थापा, टीका थापाजस्ता नामुद गायिकासँग सहकार्य गरिसकेका छन् ।

भागीरथ चलाउने, गायक
गायिका विष्णु माझीसँग युगल गीत गाएर नेपाली संगीत क्षेत्रमा पाइला चालेका भागीरथ चलाउनेले छोटो समयमै आफूलाई अब्बल साबित गर्दै लगेका छन् । ०६८ मा हरे शिव राम बोल गीत गएका भागीरथलाई मेरी माया कहाँ छिन् गीतले पनि उचाइमा पु¥यायो । पछिल्लो समय स्टेजमा निकै रुचाइएका गायकमध्ये भागीरथ पनि पर्छन् ।
सल्यानका भागीरथलाई दिल चोरेको केसमा माया जोख्ने तुलो, गोरखपुरको सलाई, निगाली चोयालगायत गीतले एकपछि अर्को सफलताको शिखरतर्फ उन्मुख बनाएको छ । तीन दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका उनी बच्चादेखि नै मनमा संगीत बोकेर हिँडेका थिए ।
भागीरथ भन्छन्, ‘स्कुलमा पनि मेरो स्वरको निकै तारिफ हुन्थ्यो । गायक बन्ने सपना बोकेर आइए पढ्ने भन्दै काठमाडौं छिरेँ ।’ संगीत नै पढेका भागीरथले पूर्णकला बिसी, देवी घर्ती, बर्मिला गुरुङलगायतका गायिकासँग सहकार्य गरिसकेका छन् । मौलिकता झल्कने र परिवारसँग बसेर सुन्न मिल्ने खालका गीत उनको प्राथमिकतामा पर्छन् ।

भूमिका गिरी, गायिका
देशविदेशका स्टेज कार्यक्रममा निकै व्यस्त गायिका हुन् भूमिका गिरी । ०६७ सालमा शिव हमालको शब्दसंगीतमा लौका चाख्ने मौका देऊ बोलको रोइला गीतबाट संगीत आरम्भ गरेकी भूमिकाले ट्युन मीठो बनायो चुकैले, नरिसाउन कान्छो, सातो पुत्लो गयो लगायत गीत गाएर श्रोताको मन जितेकी छिन् ।


काठमाडौंमा आफ्नो जीवन धान्न उनलाई दोहोरी साँझको सहारा लिनुपर्यो । जसले गर्दा पहिलो गीत रेकर्ड गरेको चार वर्षसम्म उनले कुनै पनि गीत रेकर्ड गराउन सकिनन् । ०७१ पछि मात्रै उनी संगीतको खुला प्रतिस्पर्धामा सामेल हुन आइन् । उनको हङकङको चुरोट, दियौ चुरोट दिएनौ सलाई गीत चर्चामा छन् । दुई दर्जभन्दा बढी गीत गाइसकेकी दाङकी भूमिकाले लाइभ दोहोरीमा विशेष कौशल प्रस्तुत गर्छिन् । उनको विशेषता के छ भने जुनसुकै कार्यक्रममा पनि कल्चरल ड्रेसमा प्रस्तुत हुन्छिन् । लोकदोहोरीको क्षेत्रमा लोभलाग्दो गरी उदाएकी भूमिकाले जापान, कोरिया, हङकङ, बहराइन, इजरायललगायतका देशमा पुगेर प्रस्तुति दिइसकेकी छिन् ।

प्रकाश खप्तरी मगर, गायक
पहिलो एल्बमबाटै चर्चा बटुल्ने भाग्यमानी गायक हुन् प्रकाश खप्तरी । विशेषगरी सालैजो, सोरठी बिटको गीतमा छवि बनाउन प्रयासरत प्रकाश पछिल्लो समय स्टेज कार्यक्रममा निकै व्यस्त हुन थालेका छन् । 
करिब साढे तीन दर्जन गीतमा स्वर भरिसकेका प्रकाशकोपहिलो एल्बम थियो शिरफूल । उक्त एल्बममा उनले सोरठी, सालैजो र दोहोरी गीत समावेश गरेका थिए । देवी घर्तीसँग शिरै लाउने शिरफूल, भिरको खरैलेलगायत गीत गाएपछि उनी चर्चामा आएका हुन् । ०७० सालबाट संगीतको यात्रा थालेका प्रकाश सम्भावना बोकेका गायकका सूचीमा पर्छन् ।
उनले आफ्नी आमासँग गाएको जुनलाई नभने बोलको गीतले त पाँचाँै पृथ्वी राष्ट्रिय लोकदोहोरी अवार्ड नै थाप्न सफल भयो । सोही गीतबाट उनले आफ्नी आमा पूर्णकला खप्तरीलाई पनि संगीतमा डेब्यु गराए । यही गीतको बलमा उनी बेलायत, हङकङ पुगेर स्टेज तताउन सफल बने । उनले मौलिकता झल्कने गीतमा करिअर बनाउने योजना बुनेका छन् । भार्सेको हावा, खुर्पेटोमा आँसी, अन्त माया बाँचुञ्जेल लाउँदिनँ जस्ता गीतमा स्वर दिएका प्रकाश प्रायः गीत आफ्नै शब्द र संगीतमा रेकर्ड गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया