शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ चलचित्र तथा गीत÷संगीत क्षेत्रका कलाकारहरूले टिकट पाएनन् । जसका कारण सबैजसो पार्टीसँग सम्बद्ध कलाकारहरू रुष्ट थिए । तर समानुपातिकको बन्दसूचीमा केही कलाकारहरू उम्मेदवारका  रूपमा परेपछि उनीहरू केही साम्य  भएका छन् ।

खुलातर्फ नेपाली कांग्रेसबाहेक कुनै पनि पार्टीले चलचित्र तथा संगीतकर्मीलाई टिकट दिएनन् । नेपाली कांग्रेजबाट चलचित्र निर्माता÷अभिनेता मधुकुमार श्रेष्ठले मात्र उम्मेदवारका रूपमा टिकट पाए । उनले धादिङको क्षेत्र नं. १ ‘क’बाट प्रदेशसभाका लागि टिकट पाए । अहिले उनी त्यहाँ उम्मेदवारका रूपमा छन् ।

बाँकी राजनीतिक पार्टीले कलाकारलाई उम्मेदवारको टिकट नदिएपछि गायिका कोमल ओली दाङबाट एमालेको बागी उम्मेदवार बनिन् । अन्ततः पार्टीको दबाबका कारण उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । यता समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसबाहेक अरू पार्टीले कलाकारलाई स्थान दिएका छन् ।

अभिनेत्री करिश्मा मानन्धर नयाँ शक्ति पार्टी नेपालका तर्फबाट समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभा सांसदका लागि एक नम्बरमै परेकी छन् । आदिवासी जनजाति समुदायबाट बन्दसूचीमा परेकी उनले कलाकारलाई स्थान दिएकोमा खुसी व्यक्त गरेकी छन् । करिश्माजस्तै राजनीतिमा सक्रिय भएकी अर्की अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसदका लागि टिकट पाउने चर्चा थियो । तर उनलाई पार्टीले सांसदको टिकट दिएन ।

नेकपा एमालेले दुई जना कलाकारलाई समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभा सांसदका लागि उम्मेदवारका रूपमा समावेश गरेको छ । एमालेले सोही पार्टीको जनसांस्कृतिक महासंघका अध्यक्ष एवं संगीतकार खगेन्द्र राईलाई प्रतिनिधिसभाको सांसदका लागि बन्दसूचीमा समेटेको छ । यस्तै एमालेले इलामकी गायिका सानुशिवा पहाडीलाई पनि  प्रतिनिधिसभाको सांसदका लागि बन्दसूचीमा समेटेको छ ।

नेकपा माओवादी केन्द्रले चार जना कलाकारलाई समानुपातिकका लागि स्थान दिएको छ । पार्टीका नेताका रूपमा समेत परिचित अग्रज संगीतकार मणिकुमार थापा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सांसदका लागि समानुपातिको बन्दसूचीमा परेका छन् । जनवादी संगीतकार थापाले चलचित्र दसगजा, भीमदत्तसहित सयभन्दा बढी गीतमा संगीतकार भएर काम गरिसकेका छन् । माओवादी केन्द्रबाटै गीतकार एवं साहित्यकार बाबा बस्नेत पनि समानुपातिकका लागि प्रतिनिधिसभा सांसदका लागि बन्दसूचीमा परेकी छन् ।

माओवादी केन्द्रबाट प्रदेशसभा सांसदका लागि दुई जना चलचित्रकर्मीले समानुपातिकतर्फको बन्दसूचीमा स्थान पाएका छन् । चलचित्र निर्माता संघ नेपालका अध्यक्ष एवं चलचित्र निर्माता÷अभिनेता नवल (नवराज) खड्काले प्रदेश १ बाट प्रदेशसभा सांसदका लागि समानुपातिकको बन्दसूचीमा स्थान पाएका हुन् । यस्तै अर्का अभिनेता÷निर्माता÷निर्देशक परशुराम चौधरी पनि माओवादी केन्द्रबाटै प्रदेश १ बाट प्रदेशसभा सांसदका लागि समानुपातिकको बन्दसूचीमा परेका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना चलचित्रकर्मीलाई समानुपातिकको बन्दसूचीमा समेटेको छ । चलचित्र निर्माता÷निर्देशक उद्धव पौडेल राप्रपाबाट प्रतिनिधिसभा सांसदका लागि समानुपातिकतर्फ बन्दसूचीमा समेटिएका छन् । यस्तै राप्रपाबाटै अभिनेता पुष्पराज पौडेल (पुरुष) पनि प्रतिनिधिसभा सांसदका लागि समानुपातिकतर्फ परेका छन् ।

चरित्र अभिनेत्री शैलजा पाण्डे पनि राप्रपाबाटै प्रदेश ३ का लागि प्रदेशसभा सांसदका लागि समानुपातिकको बन्दसूचीमा समेटिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले गायिका मीरा राणालाई मात्र समानुपातिकको बन्दसूचीमा समेटेको छ । यो पार्टीबाट गायिका राणा प्रतिनिधिसभा सांसदका लागि समानुपातिकको बन्दसूचीमा परेकी हुन् ।

तपाईको प्रतिक्रिया