शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – आजभोलि निद्रा नलाग्ने समस्या आममानिसमा रहेको पाइन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा लाग्दैन ।

यति मात्रै होइन, मोटोपन, डिप्रेसन, मधुमेहलगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन । उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घन्टा सुत्नुपर्ने हुन्छ । तर, जति उमेर बढ्दै जान्छ, त्यति निद्रा घट्दै जान्छ ।

उमेरअनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेरअनुसार फरक पर्ने हुन्छ । निद्रा लागेन भन्दै स्लिपिङ ट्याब्लेट खानु भने हुँदैन । निद्रा नलागेर हैरान हुनुहुुन्छ भने यस्ता उपाय अपनाउनुहोस् :

-लागुऔषध दुव्र्यसनीमा हुनुहुन्छ भने आजैदेखि त्याग्नुहोस् । यसको सेवनले मानिसलाई निद्रा लाग्दैन ।

-आफूलाई सहज हुने गरी सुत्नुहोस् । आफू सुत्ने बिस्तारा नमिलेको खण्डमा पनि निद्रा लाग्दैन ।

-सुत्नेवेलामा एक गिलास पानी पिउनु ठीक भए पनि धेरै पानी पिउँदा राति पिसाब लाग्छ र निद्रा बिग्रन्छ ।

-घुर्ने समस्याका कारण व्यक्ति आफूलाई मात्रै असहज हुँदैन, छेउमा सुत्ने अरू व्यक्तिलाई पनि असर गरिरहेको हुन्छ । घुर्ने समस्या छ भने उत्तानो परेर नसुत्नुहोस् । यसले अलिकति कम हुन्छ ।

-दिउँसो सुत्ने मानिसलाई राति निद्रा लाग्दैन । दिउँसो निद्रा लाग्ने तर साँझमा निद्रा लाग्दैन भने दिउँसो सुत्न बन्द गर्नुहोस् ।

-स्वस्थ खानपानले निद्रा लाग्न मद्दत गर्छ । माछा, मासु, दही, केरा, प्याजजस्ता खाद्य पदार्थ खानामा समावेश गर्नुहोस् ।

-व्यायाम गर्ने बानी छैन भने अबदेखि व्यायाम गर्नुहोस् । यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनअनुसार हरेक स्वस्थ मानिसलाई मज्जाको निद्रा लाग्छ ।

-डिनरमा तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना खानुहोस् । जसले मिठो निद्रा लगाउन मद्दत पुर्‍याउँछ ।

-चर्को प्रकाशमा सुत्ने बानी छ भने यसतो बानी त्याग्नुहोस् । यसले निद्रा लाग्दैन । तसर्थ, बेडरुममा मधुरो प्रकाश बाल्नुहोस् ।

-ओछ्यानमा पल्टिएसँगै मोबाइलमा फेसबुक खोल्ने, च्याटिङ गर्नेलगायतका बानी छन् भने त्याग्नुहोस् । सुत्नुअघि जे–जे गरे पनि बिस्तारामा पल्टिएसँगै मोबाइल साइलेन्समा राखेर सुत्नुहोस् । मोबाइल नचलाउनुहोस् ।

-समय–समयमा गहिरो र लामो सास फेर्ने कोसिस गर्नुहोस् । यसले शरीरमा अक्सिजनको इन्टेक बढाउँछ, जसले गर्दा राति मिठो निद्रा पर्छ ।

 

 

तपाईको प्रतिक्रिया