बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – ललितपुरमा बिहीबारदेखि वृत्तचित्र प्रदर्शनी मेलाको एघारौँ संस्करण ‘फिल्म साउथ एसिया २०१७’ सुरु हुँदैछ । ‘वृत्तचित्रः एक साक्षी’ भन्ने नाराका साथ हुन लागेको फिल्म साउथ एसिया २०१७ ललितपुरको यलमाया केन्द्रमा चार दिनसम्म चल्नेछ ।

सन् २०१५ यता बनेका दक्षिण एसियाका समसामयिक विषयमा केन्द्रित ३ सयभन्दा बढि वृत्तचित्रमध्येबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्र प्रदर्शन गरिनेछ ।

यो वर्ष प्रदर्शन हुने ६३ मध्ये ४५ वटा वृत्तचित्रले पाँचवटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने छन् । उत्कृष्ट हुने वृत्तचित्रले २ हजार अमेरिकी डलर राशी रहेको रामबहादर ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुने वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।

त्यस्तै निर्देशकको पहिलो वृत्तचित्रमध्येमा उत्कृष्ट हुनेले १ हजार अमेरिकी डलरको तारेक मसूद पुरस्कार, बालबालिकाको विषयकेन्द्रित उत्कृष्ट वृत्तचित्रले १ हजार अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थीले निर्माण गरेकामध्येको उत्कृष्ट वृत्तचित्रले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

वरिष्ठ पत्रकार कुन्दन दीक्षित संयोजक र पाकिस्तानी सिनेमाकर्मी फरजाद नावी तथा भारतीय पत्रकार राजश्री दासगुप्ता सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट वृत्तचित्र छान्नेछ ।

समितिले छानेका पुरस्कृत र अन्य प्रतिनिधि वृत्तचित्रलाई २०१८ मा ‘ट्राभलिङ् फिल्म साउथ एसिया’को नामबाट दक्षिण एसिया र विश्वका अन्य भागहरूमा प्रदर्शन गरिनेछ । ‘फिल्म साउथ एसिया २०१७’ मा दुई विशेष खण्डहरू समावेश गरिएका छन् ।

अघिल्लो पटक शुरू भएको ‘विद्यार्थी वृत्तचित्र’मा भावी सिनेमाकर्मीको ६ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ भने ‘विद्रोहका वृत्तचित्र’ खण्डमा दक्षिण एसियाली देशमा प्रतिबन्धित वा विद्रोहसँग सम्बन्धित १२ वटा वृत्तचित्र प्रदर्शन गरिने मेला निर्देशक मितु बर्माले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया