शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – पौष्टिकताका दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । मौका मिल्यो भने दिनमा एक किलो मासु पनि खाने, पाइएन भने महिनौँसम्म पनि मासु नखाने नेपालीहरूको बानी हो । मासु भनेपछि हुरुक्कै हुनुहुन्छ भने यी केही टिप्स ध्यान दिएर पढ्नुहोस् :

एक जवान मान्छेले एक दिनमा दुई सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ ।

एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ ।

मधुमेह, उच्च रक्तचाप, मिर्गौलामा समस्या, कोलेस्ट्रोल बढी भएका व्यक्तिले बोसो नभएको मासु सकभर उसिनेर खानु राम्रो हुन्छ । अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ ।


मासु खाएपछि सुत्ने नगर्नुहोस् । मासु नियमित खाने व्यक्तिले व्यायाम पनि निरन्तर गर्नुपर्छ ।

जस्तो पायो त्यस्तै मासु खानु राम्रो हुन्न । ग्यास्ट्रिकबाट बच्नका लागि सकभर उसिनेको वा रसयुक्त मासु खानु राम्रो र लाभदायी हुन्छ ।

मासु खाइसकेपछि असहज महसुस भएमा कागतीपानी वा ज्वानो खान सक्नुहुन्छ । यसले असहजता हटाउन मद्दत गर्छ ।

साधारणतः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्ट्रोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ ।

वयस्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

मासु कम खाने र पकाउने विधिमा विचार पुर्‍याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेल प्रयोग गरी पकाउनु
राम्रो हुन्छ ।

सफा वातावरणमा उत्पादन भएका चराचुरुंगीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।

पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो हुन्छ । सकिन्छ भने हप्ताको दुईचोटि खानामा माछा समावेश गर्दा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया