बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – निर्वाचनका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘सय दिनमा १ सय १’ काम गर्ने वाचा गर्नुभएको थियो । तर, कार्यभार सम्हालेको १ सय ४० दिन कट्यो, वाचा पूरा भएनन् । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गर्ने, मोनोरेल गुडाउने तथा फोहोरमुक्त काठमाडौं बनाउने लगायतका योजना उहाँको प्राथमिकतामा थियो । तर, ती ‘१ सय १’ योजनाहरु के भइरहेका छन् त – यसै विषयमा केन्द्रीत भएर समुद्रपारिका लागि नृप रावलले गर्नुभएको कुराकानीको सम्पादित अंशः

तपाईंले निर्वाचनको क्रममा सय दिनमा ‘१ सय १’ काम गर्ने वाचा गर्नुभएको थियो । एकसय ४० दिन कट्यो, ती काम पूरा गर्नुभयो ?
यसलाई बुझ्ने तरिका फरक फरक होला । सबै नभए पनि धेरै भएको छ । कतिपय काम सम्पन्न गरिसकेका छौं भने कतिपय बजेट तयार गर्दा नीति तथा कार्यक्रममा राखेका छौं । नीति तथा कार्यक्रममा राखेको कुरा भनेको तत्कालै देखिँदैन । त्यसको नतिजा देखिन केही समय लाग्न सक्छ । अहिले ‘वर्कआउट’ फेजमा छ ।

अहिलेसम्म मैले यो काम गरे भनेर उल्लेख गर्न योग्य कामचाहिँ के भयो ?
काम सबै क्षेत्रमा भइरहेको छ । सामान्य खालका पहिलादेखि चलिरहेका योजना पनि छन् । त्यसबाहेक केही नयाँ काम गर्ने पहल पनि हामीले गरेका छौं । जस्तै मोनोरेलको प्रारम्भिक प्रतिवेदन आइसकेको छ । केही डीपीआरको फेजमा छ । अर्को भर्टिकल पार्किङ भनेका थियौं, त्यसको केही प्रतिवेदन आइसकेको छ । यो अहिले तत्काल नै देखिने होइन । जसरी घर बनाउँदा जग सबैभन्दा गाह्रो हुन्छ, जग हालिसकेपछि माथि उठाउन सजिलो हुन्छ । अहिले तत्कालै नदेखिएको र सबैभन्दा बढी पैसा खर्च हुने भनेको पनि जगमै हो । त्यसकारण अहिले हामी जग हाल्ने चरणमै छौं ।

त्यसो भए यस बीचमा तपाईंले जग हाल्ने काम मात्रै गर्नुभयो ?
त्यति मात्रै पनि होइन । यस बीचमा कतिपय कामहरू सम्पन्न भइसकेका छन् । हाम्रो जिम्मामा रहेको कुराको हामीले जिम्मेवारी लिने हो । हाम्रो जिम्मा नरहेको कुरा पनि हामीसँग जोडेर समाचार आउँछ । जस्तै, ८ मिटरभन्दा ठूला सडक हाम्रो जिम्मेवारीमा होइन । तर त्यहाँ खाल्टो पर्‍यो, पिच भएन भनेर महानगरको प्रमुखलाई जोडिन्छ । पानी आएन भने महानगरको प्रमुखलाई गाली गर्छन् । पानी पुर्‍याउने केयूकेएलको हो नि ? राजधानीको ट्राफिक व्यवस्थापनको त्यस्तै समस्या छ । यी सबै काममा हामी समन्वय गरेर अघि बढिरहेका छौं । भित्रको यथार्थ कुरा थाहा नपाउँदा पनि नागरिक भ्रममा छन् । हामीले सिटी अभियान भनेर १ हजार ९५ मेट्रिक टन थप फोहोर संकलन गरिसकेका छौं ।

तर, काठमाडौंमा फोहोर त थुप्रिएको थुप्रिएकै छ त ?
त्यो अर्कै फोहोर हो । हामी त्यसको व्यवस्थापनमा लागिरहेका छौं । पहिले पनि अरू केही गर्न नसकेपछि सत्तालाई निहुर्‍याउन फोहरमै राजनीति गर्ने प्रवृत्ति छ । फोहोरमा खेल्ने बानी परेकाहरूले बानी छाड्न सकेका छैनन् ।

ओखरपौवामा किन विरोध भइरहेको छ ? जग बसालेको कुरा गर्दैगर्दा भएको जग पनि भत्किएको त होइन ?
ओखरपौवामा मात्रै नभएर सिसडोलमा पनि केही समस्या देखिएको छ । यो समस्या बिल्कुल नयाँ पनि होइन । यसलाई समाधानका लागि त्यहाँका जनप्रतिनिधिसँग हाम्रो कुरा भएको छ र अहिले सहमति भइसकेको छ । तर वास्तवमा समस्याचाहिँ के हो भने यहाँ आज एउटा समूहसँग कुरा मिलायो, भोलि अर्कै समूह खडा हुन्छ । अहिले मुआब्जाको नयाँ समस्या आएको छ । मुआब्जाको समस्या पनि टुंगो लगाउन चाहन्छौं ।

फोहोर व्यवस्थापनका लागि दीर्घकालिन समाधानको योजनाचाहिँ के हुन सक्छ ?
फोहोरमैला व्यवस्थापनका लागि हामीले बञ्चरेडाँडालाई छानेका छौं । त्यसको जिम्मेवारी फरकफरक छ । ल्याण्डफिल्ड साइट बनाउने जिम्मा नेपाल सरकारको हो । सरकारले फोहोरमैला प्राविधिक सहयोग केन्द्र नै बनाएर त्यसको जिम्मेवारी लिएको थियो । हाम्रो काम त यहाँको फोहोर लगेर त्यहाँ ल्याण्डफिल्ड गरिदिने हो । ठाउँ बनाउने त उहाँहरूको जिम्मा हो नि । तर सरकारले यसका लागि अग्रसरता देखाएको छैन । वास्तवमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने हो भने सिसडोलको धेरै समस्या दीर्घकालिन रूपमा समाधान हुन्छ ।

महानगरपालिकालाई स्मार्ट सिटी बनाउने चर्कै नारा लगाउनुभएको थियो । अहिले फोहोर सिटीमा रूपान्तरण भएको नागरिकको व्यापक टिप्पणी छ नि ?
यहाँ सरकार कमजोर छ । सरकार कहाँ छ भन्ने म सोच्दै छु । काठमाडौंभरि मात्रै होइन, सिंगो काठमाडौं, भक्तपुर र ललितपुरमा पनि फोहोर थुप्रिएर बसेको छ । १८ वटा नगरपालिकामा फोहोर थुप्रिएको छ । सरकार के हेरेर बस्छ ? यहाँभन्दा बढी फोहोर ललितपुरमा थुप्रिँदा पनि त्यसको दोष हामीलाई किन ? तर हामीले योजनाहरू ल्याइसकेका छौं । महानगर अवश्य स्मार्ट सिटी बन्छ, ढुक्क हुनुस् । यसका लागि अध्ययन अघि बढिसकेको छ, चाडै ‘रिजल्ट’ निस्कने गरी काम थाल्दैछौं ।

तपाईंको महत्वकांक्षी योजनाको कुरा गरौं, काठमाडौंमा कहिलेसम्ममा गुड्ला मोनोरेल ?
मोनोरेल योजना र यसको रुटको विषयमा एक महिनाअघि नै कोरियाको एक कम्पनीसँग छलफल गरिसकेका छौं र उसले सम्भाव्यता अध्ययन पनि गरिसकेको छ । यस विषयमा हामी थप छलफल गरिरहेका छौं । विश्वास गर्नुहोस् मेरै कार्यकालभित्र काठमाडौंमा मोनोरेल सञ्चालन हुनेछ ।

प्रसंग बदलौं, तपाईंले चुनावका क्रममा पार्कहरू व्यवस्थित हुनेछ, काठमाडौं बस्नलायक हुनेछ भन्नुभएको थियो । त्यो काम कति भयो ?
तपाईंले देख्नुहुन्छ । यहाँ कर्मचारी सरुवा गर्दा काम नै भइरहेको छैन । अब तपाईं बुझ्नुस्, यहाँको आन्तरिक समस्या के हो भनेर । नियमित कर्मचारी सरुवा गर्दा अहिले पनि पत्र नबुझने काम भइरहेको छ । अनि कसरी प्रमुखले काम गर्न सक्दछ ? यस्तो स्थितिले मेरो योजना लागू गर्न त गाह्रो हुन्छ । तै पनि मैले मेरो ७० प्रतिशत योजना र वाचा कार्यान्वयनको चरणका लगेको छु । यो मेरो ठूलो उपलब्धी हो, रिजल्ट आउन त केहि समय पर्खिनु पर्ने नै हुन्छ ।

कर्मचारीका असहयोगले गर्दा काम गर्न सकिनँ भन्ने तपाईंको भनाई हो ?
केही हदसम्म त्यस्तै हो । यहाँ अप्ठेराहरू धेरै छन् । आफूलाई जस्तोसुकै राम्रा योजनाहरू ल्याएर पनि नहुँदो रहेछ । सबै पक्षलाई चित्त बुझाउनुपर्ने बाध्यता छ । फेरि सबैको चित्त बुझाउनेतिर लागियो भने काम हुन नसक्ने समस्या छ ।

अन्त्यतिर छौं, काठमाडौं धुवाँधूलोमुक्त सहर कहिले बन्छ ?
महानगरपालिका नामचाहिँ छ । जिम्मेवारीचाहिँ सबै महानगरको पाइएको छैन । जस्तैः खानेपानी महानगरको हातमा छैन । खानेपानीसँग सम्बन्धित मेलम्ची, केयूकेएल हाम्रो क्षेत्राधिकारभित्र छैन । ढल व्यवस्थापन पनि हाम्रो हातमा छैन । टेलिकमले कहाँ तार बिछ्याउँछ हामीलाई थाहा छैन । त्यसकारण यहाँ समन्वयको अभाव छ, समन्वय गरेर अघि बढ्यो भने अवश्य नै काठमाडौं चाँडै धुवाँधूलोमुक्त सहर बन्छ । यसतर्फ हामी गम्भीर छौं ।

तपाईंले कल्पना गर्नुभएको महानगरपालिका बनाउन त गाह्रो हुने देखियो, होइन ?
गर्न सक्छु भनेर नै जिम्मेवारी लिएको हो । मलाई विश्वास गरेर सम्पूर्ण महानगरवासीले यो जिम्मेवारी दिनुभएको हो । मलाई विश्वास छ, म गर्न सक्छु र गरेर देखाउँछु । केही समय लाग्ने भएकाले धर्यचाहिँ गर्नुपर्छ । नतिजा अवश्य देखिनेछ । यो मेरो विश्वास हो ।***

तपाईको प्रतिक्रिया