शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।

मकवानपुर-२ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा-२ मा उपाध्यक्ष राजीव पराजुली, झापा-३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख १ मा कुन्तीकुमारी शाही र काठमाडौँ-७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिनुहुने उक्त पार्टीले जनाएको छ ।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

प्रदेश सभा निर्वाचनका लागि सोही गठबन्धनबाट पार्टीले हालसम्म धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवारका रूपमा तय गरेको जनाइएको छ ।

उक्त पार्टीले मुलुकका सातवटै प्रदेशमा चुनावी सभासमेत गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया