बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – जापानमा सम्पन्न आम चुनावमा प्रधानमन्त्री सिन्जो आबे सहज जिततर्फ उन्मुख भएको जस्तो देखिएको छ।

मतदान गरेर फर्किरहेका मानिसहरुमा गरिने एक्जीट पोल भनिने सर्वेक्षणहरुले आबेको लिबरल डेमोक्रेटिक पार्टी र त्यससँगको गठबन्धनमा आवद्ध दलहरुले झण्डै दुई तिहाइ सिट जित्ने देखाएको छ।चुनावी परिणामले आबेलाई हालसम्मकै सबैभन्दा बढी सत्तामा बस्ने प्रधानमन्त्री बनाउने विवरणहरु प्रकाशमा आएका छन्।

प्रधानमन्त्री चुनिए देशको संविधानमा आधारभूत परिवर्तन गर्ने वाचा उनले गर्दै आएका थिए।

कारण

दुई महिना अघि मात्रै प्रधानमन्त्री आबे गहिरो संकटमा फसेको अवस्थामा थिए। उनी दुईवटा खराब राजनीतिक काण्डहरुसँग जोडिएका थिए र उनको लोकप्रियता खस्कीरहेको थियो।   तर आइतबार राती उनी चौथो कार्यकालका लागि प्रधानमन्त्री चुनिने दिशामा आग्रसर भइरहेका छन्।

उनी बलियो हुनुको पछाडी जापानका विपक्षी दलहरुमा देखिएको भद्रगोलको अवस्था एउटा प्रमुख कारण हो।  त्यसबाहेक उत्तर कोरियाका तानाशाह किम जङ उन पनि आबेको लोकप्रियता चुलिनुको आंशिक कारक हुन्।  किमको देशले गर्मीयाममा जापानी क्षेत्रमा दुई वटा क्षेप्यास्त्र प्रहार गरेपछि प्रधानमन्त्री आबेको लोकप्रियता अकस्मात पुनर्बहाली भयो।

आँकलन

मतदातामाझ गरिएका एक्जिट पोल भनिने सर्वेक्षणलाई मान्ने हो भने आबे र उनको दलसँग गठबन्धन गरेका पार्टीहरुले सरकार बनाउन आवश्यक २३३ भन्दा बढी, लगभग ३०० सिट जित्ने देखिन्छ।  अघिल्लो महिना आबेले नियमित समयभन्दा एक वर्षअघि चुनाव गराउने निर्णय लिएका थिए।  अब उनी विश्वयुद्ध यताकै सबैभन्दा लामो कार्यकाल सत्तामा रहने प्रधानमन्त्री बन्न लागेका छन्।

उनले आफ्नो चौथो कार्यकाल जापानी संविधानको धारा नौलाई खारेज गर्ने प्रयासमा बिताउने बताएका छन्। उक्त धाराले जापानलाई शान्तिप्रेमी राष्ट्रका रुपमा परिभाषित गर्दै आत्मरक्षा बाहेकको अवस्थामा युद्धमा जानबाट रोकेको छ।बीबीसी

तपाईको प्रतिक्रिया