शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं –  निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ ।
निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताउनुभयो । नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफँैमा पनि ऐतिहासिक रहेको बताउँदै उहाँले आजको उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गर्नुभयो । निर्वाचन आयोगमा प्राप्त प्रारम्भिक सूचनाअनुसार ४५० भन्दाबढी मनोनयन दर्ता भएको सो अवसरमा जानकारी दिइयो ।
प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था गरिएको थियो । उम्मेदवारी दर्ता गर्न आज ५ः०० बजेभित्र सम्बन्धित निर्वाचन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आउनुभएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नुहुनेछ ।
आजको उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी २०७४ कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया