शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो -जापानबासी नेपालीहरुले नेपालमा रहेका घरपरिवारहरुले जस्तै गरि परम्परागत ढंगले आफ्नो रीतिरिवाज अनुसार तिहार  मनाएका छन्। जापानका टोकियो, ओसाका, नायोगा योकोहामा,सेन्दाई  लगायतका सहरमा रहेका नेपालीहरुले लक्ष्मीपूजा, देउसीभैलो र भाइटीका लगाइ आपसी सदभाव, आत्मियता र बन्धुत्व साटासाट गर्दै  तिहार मनाएका हुन् ।

व्यस्त देशको रुपमा परिचित जापानमा आफ्नो कामलाई केही थाती राखेर भेट्न सम्भव परिवारजन साथीभाइहरुका बिचमा गाउँघरमा जस्तै गरि टिकाटालो गरेर सेल रोटी लगायतका परिकारहरु खादै साथीभाइहरु मिली  देउसी र भैलो खेलेर यसपालिको तिहार मनाएको चितवन समाज जापानका कार्यवाहक अध्यक्ष समेत रहेका इश्वरी कंडेलले बताउनुभयो ।

घरपरिवारमा संगै रहदा लक्ष्मी पूजा गर्न सारै मजा लाग्थ्यो शिन ओकोबोमा लक्ष्मी पूजा गर्दै गर्नभएकी म्याग्दी कि शान्ति मल्लले भन्नुभयो  – ‘जापानमा रहेपनि आफुले सकेसम्म र जानेसम्म मिलाएर लक्ष्मी पूजा गरेको छु , जापानमै रहेका परिवारसंग रमाइलो गर्दै तिहारका परिकार बनाएर आफ्नो भाइलाइ भाइटीका लगाइदिन पाएकोमा नेपालको नियास्रो मेटिएको  छ ।’

नागोयाबाट भाइटिका लगाउन कै लागि टोकियोमा आफ्नो भाइलाई बोलाउनु भएकी रजनी गुरुङले पनि वर्ष दिनमा एकचोटी आउने चाडबाडमा विदेशमै भए पनि आफ्नो परिवारका सदस्यहरुसंग रहन पाउदा मन फुरुंग भएको बताउनुभयो । उहाले जापानमा कामको चाप रहेपनि त्यसलाई केहि पन्छाएर भाइको निधारमा सप्तरंगी टिका लगाईदिएर आशिर्वाद दिन पाउदा आफुलाई भाग्यमानी दिदीको रुपमा लिएको बताउनुभयो  ।

टोकियोमै रहनु भएकी प्रेमिला गौचनले नेपालका विभिन्न ठाउबाट आएका दाजुभाइहरुलाई आफुले टिका लगाइदिएको बताउनुभयो । ‘आफ्नो परम्परालाई जोगाउन र कसैलाई पनि दिदीबहिनी नभएर तिहार खल्लो भएको महशुस गर्न नपरोस भनेर आफुले चिनेजानेका भाइहरुलाई  भाइटिका लगाइदिए।’
टोकियोमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै आफ्नो संस्कृति र परम्परा मनाउने चलन बढ्दै गएको छ। तिहारलाई लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसँगै अन्य विदेशी पनि किन्न पुगेका दृष्य जापानको शिनओकुबोमा देख्न पाइन्थ्यो । अझ रमाइलो त विभिन्न समाजहरुले आयोजना गरेका देउसी भैलोहरुमा जापानी नागरिकहरु तालमा ताल मिलाई नाच्दै गाउदै गरेको दृश्य रोमान्चक देखिन्थ्यो । चितवन समाज जापान , लमजुङ समाज जापान टोकियो रोधी क्लव लगायतले नेपाली परम्परागत शैलीमा देउसीभैलो कार्यक्रमको आयोजना गरेका थिए जहाँ  नेपाली सहित जापानी नागरिकको बाक्लो उपस्थिति थियो ।

चितवन समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका दिपक सुवेदीले परदेशमा नै भएपनि आफ्नो मौलिकता र परम्परालाई निरन्तरता दिन पाएकोमा खुशी व्यक्त गर्दै नेपाली कला  संस्कृति, रीतिरिवाज परम्परालाई समयानुसार व्यवस्थितरुपमा निरन्तरता दिनु जुनसुकै ठाउमा रहेका हरेक नेपालीको दायित्व भएको बताउनुभयो ।

टोकियो रोधी क्लवको प्राङ्गणमा भैलीमा छम छम नाच्दै गर्नुभएका चितवनका समर्पण कँडेलले नेपाली मातृभूमिलाई सम्झन, नेपाली संस्कृति रीतिरिवाजलाई जोगाउन संरक्षण गर्न र आपसमा भाइचाराको सम्बन्ध बढाउदै लैजानका लागि तिहारले महत्वपुर्ण भूमिका खेलेकोले आफुले पनि जापान खुशीसाथ मनाएको र सबैलाई मनाउना आग्रह समेत गर्नुभयो ।

‘जापानको व्यस्त्काता बाबजुद पनि केही समय मिलाएर आफ्नो बहिनीको हातबाट टीका लगाएँ’, सेन्दाइमा रहनुभएका लमजुङका निराजन घिमिरेले भन्नुभयो  – ‘जापानको कामको बेफुर्सदीले देउसी खेल्न चाहिँ भ्याइएन साथीहरु खेल्नुभयो आफैलाई कस्तो कस्तो लागिरहेको छ ।’
‘जापान आएको ६ वर्ष  भयो  हरेक वर्षको तिहारमा मेरो निधार खाली नै रहन्छ’ – इबाराकिको हिताचीमा रहेका अर्का नेपाली सुरज थापाले नमीठो अनुभव सुनाए – ’हरेक तिहारमा र चाडवाडमा बहिनीहरु घरपरिवारको यादले सताउछ ।
नेपालमा जस्तै सेलरोटी, फिनी, लड्डु, रसबरीलगायतका मीठा परिकार बनाएको र जमघट भै  देउसी भैलो खेलेर पनि तिहार मनाएका छन्। मादल, गितारमा भट्टाएर नाचेको परम्परागत देउसी भैलोमा रमाएको  जापानका विभिन्न भागमा बसोबास गर्ने नेपालीहरुमा देख्न पाइन्थ्यो ।’

नेपालीले पञ्चाङ्ग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभ साइतमा जापानी समयअनुसार ३ बजेर ५ मिनेटदेखि राती अबेरसम्म पनि टिका लगाएको  देखिन्थ्यो ।

पछिल्लो समय विदेशमा रहने नेपालीहरुलाई आफ्नो कला, संस्कृति, रीतिरिवाज, परम्परा ,पहिचान चाडवाडप्रति मोह बढ्दै जान थालेको यसप्रकारका चाडबाडमा हुने गतिविधिले देखाएको छ । ***

तपाईको प्रतिक्रिया