शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भाइटीकाको पावन अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले उज्यालो र रंगहरुको यस महान पर्वले नेपालीहरुबीचको धार्मिक, सांस्कृतिक सहिष्णुता, एकता सहकार्य र सम्मिलनमा अझ प्रगाढता ल्याउदै जाने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले तिहारले सबै नेपालीको मुहारमा खुसी ल्याउन सकोस, राष्ट्रिय एकता र विकासको मार्गमा हिँड्न प्रेरित गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल विविध धर्म र संस्कृतिको बहुपहिचानयुक्त विशेषता भएको मुलक भएकाले पनि यस्ता पर्वहरुले समाजमा भातृत्व र भावनात्मक एकताका लागि महत्वपुर्ण योगदान पुऱ्याउदै आएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि भाइटिकाको शुभकामना दिनुभएको छ । चाडपर्वहरु नेपालीका साँस्कृतिक निधि भएको उल्लेख गर्दै उहाँले पर्वमा सबैले स्वस्थ्य मनोरञ्जन गर्न, पर्वका नाममा हुने विकृतिलाई प्रश्रय नदिन तथा तिहार मार्फत सम्पूर्ण दिदीबहिनी र दाजुभाइको आत्मियता अझै बढोस् भन्ने कामना गर्नुभयो ।

संविधानसभाले संविधान जारी गरेपछि नेपाली राजनीतिका प्राथमिकताहरु बदलिएको उल्लेख गर्दै अध्यक्ष ओलीले हक अधिकार प्राप्तीका आन्दोलनहरुबाट अब आर्थिक वृद्धि, विकास र समृद्धितर्फ हाम्रा पाइलाहरु अघि बढेका उल्लेख गर्नुभयो । यसै बर्ष सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधिहरुको उपस्थिति हुनुले लोकतन्त्रको आभाष गाउँवस्तीसम्म पुर्‍याएको महसुस सबैले गरेको उहाँले बताउनुभयो ।

मुलुक साविक भन्दा फरक खालको चुनावी अभ्यासमा गएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसिर १० र २१ गते हुने निर्वाचनपछि हाम्रो संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैबिच निर्वाचन आयोगले पनि तिहारको शुभकामना दिदै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आचारसंहिता पुर्ण रुपमा पालना गर्न दलहरुलाई आग्रह गरेको हो ।

शुभकामना सन्देशमा आयोगले संविधानको भावना अनुरुप समानुपातिक र समावेशी सिद्धान्तको मर्मलाई ख्याल गरेर उम्मेदवार छनौट गर्न दलहरुलाई सचेत समेत गराएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाहरुबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा सहित आयोगले निर्वाचन सफल रुपमा सम्पन्न गर्न सबैको सहयोगको आव्हान गरेको छ ।

तपाईको प्रतिक्रिया