शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति केन्द्रका संयोजक बाबुराम भट्टराईलाई सहयोग गर्दै नेपाली कांगेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अधिकांश क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

पछिल्लो साता लगातार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाको ३५ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिएको हो । नुवाकोटका दुई क्षेत्र मध्ये कुन रोज्ने भन्नेमा नेताहरुबीच विवाद कायमै छ ।

गोरखा क्षेत्र नम्बर एकमा चिनकाजी श्रेष्ठलाई प्रतिनिधिसभा तर्फ प्रत्यक्ष उम्मेदवार बनाउदै कांग्रेसले २ मा भने भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको हो । बामगठबन्धनले गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।

निर्वाचनमा नेता भट्टराईले आफ्नै दलको आँखा चुनाव चिन्ह प्रयोग गर्ने वा रुख नै लिएर सहभागी हुने भन्ने बारे भने निर्णय भईसकेको छैन । अन्य ३१ जिल्ला मध्ये नुवाकोटको क्षेत्र नम्बर एकमा देखिएको विवाद अन्त्यका लागि राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अहिले पनि छलफल जारी छ ।

नुवाकोट क्षेत्र नम्बर एकमा नेता अर्जुन नरसिंह केसी र रामशरण महतले दावी गरेपछि सहमति हुन सकेको छैन । दुई वटा क्षेत्र रहेको नुवाकोटमा केसी र महतलाई एकएक क्षेत्रबाट उम्मेद्वार बनाउने तयारी कांग्रेसको छ । भोली मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएकाले पनि नेतृत्वलाई दवाव परेको छ । लोकतान्त्रिक गठवन्धनमा आवद्ध पार्टीले पाउने सिटसंख्या, निर्वाचन क्षेत्रमा सहमति र आफ्नै पार्टीमा पनि भागवण्डा मिलाउनुपर्ने भएकाले समस्या भएको हो ।

लोकतान्त्रिक गठवन्धनका साथै, नयाँशक्ति पार्टीसंगको चुनावी तालमेलका कारण केही कठिनाई भएको तर आजै सबै क्षेत्रको टुङ्गो लाग्ने केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया