शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – चुनावी रणनीति बनाउन दलहरु बिहीबार पनि आन्तरिक छलफलमा व्यस्त छन् ।

आउँदो मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छनौटको अन्तिम तयारीमा रहेको दलहरुले जनाएका छन् । बिहानैदेखि आन्तरिक छलफलमा जुटेका दलहरुले बेलुकीसम्ममा उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी गरेको बताएका छन् ।

आज बेलुकीसम्ममा उम्मेदवारको टुंगो लगाउन गरी नेपाली कांग्रेस आन्तरिक छलफलमा व्यस्त छ । ३२ मध्ये सात जिल्लामा मंगलबार नै उम्मेदवार टुंग्याएको कांग्रेसले बाँकी २५ जिल्लामा उम्मेदवार टुंग्याउन बाँकी छ । उसले सबै जिल्लामा बेलुकीसम्ममा उम्मेदवारको टुंगो लगाएपछि मात्रै नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

यस्तै उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दैछ । ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकले आउँदो मंसिरमा हुने चुनावको लागि उम्मेदवारको टुंगो लगाउने एमालेले जनाएको छ ।

यसैगरी माओवादी केन्द्रले पनि आन्तरिक छलफल गरी उम्मेदवारको टुंगो लगाउन लागेको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो । अरु दल पनि चुनावी रणनीति बनाउन आन्तरिक छलफलमा छन् ।

पहिलो चरणमा हिमाल र पहाडका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते र दोस्रो चरणमा ४५ जिल्लामा प्रदेश र प्रतिनिधि सभा चुनाव हुँदैछ ।

यसैबीच एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँड र सिट संख्या टुंग्याउने विषय जटिल बन्दै गएको छ । पहिलो चरणअन्तर्गत प्रदेश र संघको चुनावको उम्मेदवार मनोनयन दर्ता गर्न तीन दिन मात्रै बाँकी हुँदासम्म सहमति जुट्न सकेको छैन ।

क्षेत्र र सिट बाँडफाँड कार्यदलले दुई हप्तादेखि गृहकार्य गर्दा पनि अन्तिम टुंगो लगाउन नसकेपछि आज र भोलि बैठक बसेर अन्तिम टुंगो लगाउने तयारी भएको गठबन्धनले जनाएको छ ।

तपाईको प्रतिक्रिया