सघ-प्रदेश निर्वाचनः लेनदेनमा उम्मेदवारी

काठमाडौं – कास्कीका एक जग्गा व्यवसायीले प्रदेशको उम्मेदवार बन्न कांग्रेसका सबैजसो नेताका ढोका धाइसके । तैपनि उनलाई भरोसा भएन । त्यसैले अचेल उनी राजनीतिक बिचौलियाकहाँ धाइरहेका छन् ।

ती बिचौलियाले टिकट मिलाइदिने भन्दै मोटै रकम मागेका छन् । ती व्यवसायी भने टिकट पाए मागेजति दिन तयार छन् । कास्कीकै अर्का पात्र छन् म्यानपावर व्यवसायी, जो उम्मेदवार हुन जतिसुकै खर्चन तयार रहेको भन्दै नेताहरूलाई प्रभावित बनाउन सक्रिय छन् ।

यही देखेर हुन सक्छ, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघले आयोजना गरेको कार्यक्रममै पैसाको राजनीतिले लोकतन्त्रलाई नै समाप्त पार्न खोजेको बताए । उनले भने, ‘चुनावमा कमभन्दा कम पैसा खर्च गर्नेतिर प्रणाली विकसित गर्न सक्नुपर्छ । नत्र पैसाले इमानदार, निष्ठावान नेता–कार्यकर्तालाई मात्रै होइन, लोकतन्त्रलाई समाप्त पार्छ ।’

यतिबेला कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ठूलासाना सबै दलमा टिकटको चटारो छ । समानुपातिक उम्मेदवारको बन्दसूची असोज २९ मा बुझाइए पनि प्राथमिकतामा अघि पर्न विभिन्न दबाब र प्रभाव पार्ने काम अझै कायमै छ । एकातिर बन्दसूचीमा परेका उम्मेदवारको नाम संशोधन गर्ने क्रम भइरहेको छ भने अर्कोतर्फ प्रत्यक्षतर्फ पहिलो चरणका ३२ जिल्लाका उम्मेदवार छनोट गर्ने काम पनि ।

यही मौकामा टिकट पक्का गर्न नेता र ‘बिचौलिया’ समात्ने जमात उत्तिकै छ । ‘नेताहरूबीच पैसावालाहरूको जति चर्चा भइरहेको छ, पार्टीमा लामो संघर्ष गरेका र दुस्ख पाएका नेताकार्यकर्ताको त्यति छैन,’ कांग्रेसकै एक उच्च नेताले कान्तिपुरसँग दुखेसो गरे, ‘पैसाले टिकट वितरण गर्न थालियो भने पार्टीको विचार र सिद्धान्त भन्ने चिज हराउँदै जाने देखिन्छ ।’

राजनीतिलाई अपराधीकरण गर्ने र अपराधीलाई राजनीतीकरण गर्ने मुहानको मुख्य स्रोत यहींबाट सुरु हुन्छ । एक नेताको टिप्पणी छ, ‘कांग्रेसले भ्रष्टाचार ठहर भई जेल सजाय भोगेका खुमबहादुर खड्कालाई टिकट वितरण गर्ने शक्तिशाली संसदीय समितिमा राख्नु र एमालेले गुन्डानाइके दीपक मनाङेलाई टिकट दिनुुजस्ता घटना अन्ततस् शक्ति र पैसाकै तागत हो ।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी ८ सय बढी सांसद चुनिँदै छन् । राष्ट्रिय सभाबाट थप ५९ सांसद आउँछन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित