शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले तोकिएको समयमै निर्वाचन हुनेमा ढुक्क हुन मतदातालाई आग्रह गर्नुभएको छ ।

आज निर्वाचन आयोगमा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले आगामी मंसिर १० र २१ गते निर्वाचनका लागि राजनीतिक दलहरूले उत्साहका साथ समानुपातिक उमेदवारको सूची बुझाइसकेको अवस्थामा निर्वाचन सुनिश्चित भएको बताउनुभएको हो ।

साथै आयोगले निर्वाचन सामग्रीको व्यवस्थापन प्रक्रियालाई अगाडि बढाइसकेको उहाँले बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सात प्रकारका मतपत्रको छपाइ सुरु भइसकेको भन्दै मुख्य निर्वाचन आयुक्त यादवले कात्तिक ७ गतेसम्म सबै मतपत्र छापिसकिने बताउनुभयो ।

समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाई गर्नुपर्नेमा हालसम्म ९० लाखभन्दा बढी मतपत्र छपाई भइसकेको आयोगले जानकारी दिएको छ । यसैबीच आयोगको निर्णय अनुसार एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र त्यसको तल्लो भागमा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र हुने छ ।

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिने छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङ्गको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया