बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले वाम तालमेलको घोषणा गरेर टिकट बाँडफाँडको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएका छन् ।

टिकट वितरणको काम अन्तिम चरणमा पुर्‍याए पनि पार्टीभित्र असन्तुष्टि भने चुलिदै गएको छ । ६० र ४० प्रतिशतको भागबण्डाका कारण कतिपय जिल्लामा लोकप्रिय व्यक्तिले नै टिकट नपाउने अवस्था आएपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ । जिल्लाको भावना नबुझी केन्द्रबाट एकैपटक टिकट वितरण गर्दा कर्ताकर्ता निराश बनेका छन् ।

पहिलो चरणमा चुनाव हुने संखुवासभा माओवादीले आफूलाई दिन माग गरे पनि एमालेले भोजपुर लिन आग्रह गरेपछि एमालेभित्र असन्तुष्टि चुलिएको हो । संखुवासभाभन्दा भोजपुर एमालेको बढी जनमत भए पनि गुटगत प्रभावका कारण एमालेबाट सिट बाँडफाँड कार्यदलमा रहेका नेताहरुले भोजपुर छाड्न तयार भएका छन् ।

भर्खरै सकिएको स्थानीय तहको चुनाव र २०७० को संविधानसभामा चुनावमा भोजपुरका दुवै क्षेत्र एमालेले जितेको थियो भने संखुवासभाका दुवै क्षेत्र गुमाएको थियो । भोजपुर एमालेले राखे माधव नेपाल पक्षका केन्द्रीय सदस्य राजेन्द्र राईले टिकट पाउने संभावना भएपछि संस्थापन पक्षले छाड्ने तयारी गरेको नेपाल पक्षको आरोप छ ।

भोजपुरबाट टिकटका लागि राई र कृपाशुर शेर्पा प्रतिनिधिसभाका लागि सिफारिसमा परेका छन् । प्रतिनिधिसभामा भोजपुर र संखुवासभामा एकरएक क्षेत्र रहेको छ ।

तपाईको प्रतिक्रिया