शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा भूषण घिमिरे चयन हुनुभएको छ । विश्वसम्मेलन स्थलमा बुधबार बसेको गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिको पहिलो बैठकले पत्रकार घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिईएको हो ।

यस अघि घिमिरे दुई कार्यकालसम्म एनआरएन आइसीसीको सदस्यकारुपमा जापानबाट प्रतिनिधित्व गर्दै आउनुभएको थियो । एनआरएनको इतिहासमा पत्रकारिता पृष्ठभूमि भएको ब्यक्तिले प्रवक्ताको जिम्मेवारी पाएको यो पहिलोचोटी हो ।

जापानको सोफिया युनिभर्सिटीबाट पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे विगत लामो समयदेखि जापानबाट प्रकाशित हुँदै आएको एक मात्र नेपाली भाषाको पत्रिका ’नेपाली समाचार’ को सम्पादक र ‘समुद्रपारि डट कम’ को सल्लाहकार सम्पादक हुनुहुन्छ ।

विगत १६ वर्ष देखि जापानमा बसोवास गर्दै आउनुभएका घिमिरे यसअघि युग सम्वाद साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका घिमिरे टोकियोमा रेष्टुरेन्ट तथा ग्रसरी व्यवसायमा संलग्न हुनुहुन्छ ।

नेतृत्वमा भवन भट्ट निर्वाचित भएसंगै एनआरएनए आइसीसीमा जापानले सशक्त उपस्थिति देखाएको छ । अध्यक्षमा भट्ट, प्रवक्तामा घिमिरे, एशिया संयोजकमा किरणविक्रम थापा, उपसंयोजकमा पारसमणि पोखरेल र युवा संयोजकमा सुदन थापा जापानबाट निर्वाचित भएका हुन् । यसैगरी आइसीसी सदस्यहरुमा यसअघि नै कपिलदेव थापा, दिनेश गुरुङ, अनुज थापा, डिलाराम खरेल  र केशर गिरी सर्बसम्मत चयन भईसकेका छन् ।***

 

तपाईको प्रतिक्रिया