शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुरा फेर्नमा कहलिनुभएको छ । । केही घन्टाकै अवधिमा मंगलबार उहाँको वचन फेरिएपछि पुनः राजनीति तरंगित बनेको छ ।

बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई दिउँसोसम्म सरकार सञ्चालनमा सजिलो बनाइदिन मन्त्रीहरू फिर्ता बोलाउने वचन दिनुभएका उहाँले दिउँसो २ बजे फोन गरेर भन्नुभयो, ‘अहिलेलाई यस्तै भयो, हामी अहिले सरकार छाड्न नसक्ने भयौं ।’

वाम गठबन्धन गर्दै एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणा गरेपछि माओवादीलाई सरकार छाड्ने दबाब थियो । विपक्षी पार्टीसँग चुनावी तालमेल र सत्तारुढसँग सरकारमा सहकार्य, माओवादीमाथि दबाबसँगै नैतिक संकट पनि थियो ।

जेठ २३ गते प्रधानमन्त्रीमा नियुक्त देउवासँगको १ सय ३३ दिनको सहयात्रापछि माओवादी मन्त्रीहरू मंगलबार सरकारबाट बाहिरन लागेका थिए । तर, एकाएक माओवादीले सरकार नछाड्ने निर्णय लियो ।

दिउँसो गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमा भेला भएका पत्रकारसामु भन्नुभयो, ‘तपार्इंहरूलाई खास बोलाएको सरकार छाड्ने विषयमा जानकारी गराउन हो तर निर्वाचन सार्ने प्रपञ्चबारे निर्वाचन आयोगमार्फत सूचना पायौं । सरकार छाड्ने पत्रमा अध्यक्षले हस्ताक्षर गर्न लाग्दा त्यस्तो सूचना आएपछि अहिलेलाई सरकारबाट बाहिरिने निर्णय स्थगित गरेका छौं ।’

फोनको घन्टीले रोक्यो

यता, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले दिउँसो १ बजे र गृहमन्त्री शर्माले दिउँसो २ बजे आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन तय गर्नुभएको थियो । महराले सोमबार संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित भएको जानकारीका लागि पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो । तर, गृहमन्त्री शर्माले भने सरकार छाड्न लागेको जानकारी दिन पत्रकार बोलाउनुभएको थियो।

माओवादीका एक शीर्ष नेताका अनुसार छलफलकै क्रममा दाहालको मोबाइलमा घन्टी बज्यो । त्यसपछि दाहालले ड्राफ्ट छाडेर सरकार निर्वाचन सार्ने तयारीमा रहेको, सर्वाेच्चमा रहेको मतपत्रसम्बन्धी मुद्दाको निर्णय आउन लागेको कारण केही दिन सरकार छाड्न नहुने धारणा सुनाए । दाहालले अदालतमा रहेको उक्त मुद्दामा निर्वाचन आयोगले तयार पारेको मतपत्र नभई अलग-अलग मतपत्र कायम गर्ने निर्णय गरेर निर्वाचन हुन नदिन खोजिएकाले सरकार छाड्न तत्काल उचित नहुने बताएका थिए । त्यसलगत्तै गृह मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरिरहेका जनार्दन शर्मालाई दलको कार्यालय बोलाइयो ।

अब के गर्छ माओवादी ?

माओवादीले निर्वाचन सुनिश्चितताका लागि सरकार नछाड्ने बताएको छ । प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘निर्वाचनको सुनिश्चितताका लागि हामी अब पहिलो चरणको निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनको दिनसम्म सरकारबाट हट्दैनौं ।’निर्वाचन आयोगले प्रत्यक्षतर्फ ५ कात्तिकमा उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ ।

तपाईको प्रतिक्रिया