मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं –  ओस्कार कमिटीले यौन दुव्र्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई निस्कासन गरेको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएपछि उनी निस्कासित भएका हुन् । कमिटीले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो । कमिटीमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् ।

वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् र त्यस मध्ये ८१ वटा अवार्ड जितेका छन् । ओस्कारको पछि रहेको बोर्डको आपतकालीन बैठक बसेर वाइनस्टिनलाई निकाला गर्ने प्रस्ताव पारित गरेको हो ।

वाइनस्टिनमाथि अभिनेत्री एन्जोलिना जोली, रोज म्याकगोवान, ग्वेनेथ पाल्ट्रोसहितका १२ जनाभन्दा बढी अभिनेत्रीले यौन दुराचारको आरोप लगाएका छन् ।

अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिउड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ ।

६५ वर्षका वाइनस्टिनले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । वाइनस्टिनलाई बेलायतको बाफ्टाले यसअघि नै निलम्बित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया