शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
भरतपुर-भरतपुरमा जारी पहिलो सिएमसी मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल हुनु एकदिन अघि खेलकुद पत्रकार–११ र मेयर–११ बीच मैत्रीपूर्ण खेल गरिएको छ । प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मञ्च चितवनको टोली ५ विकेटले विजयी भएको छ ।
मेयर–११ टोलीको नेतृत्व भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन् भने खेलकुद पत्रकारको नेतृत्व नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव दिपेन्द्र अधिकारीले गरेका थिए ।
प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको मेयर–११ को टोलीले निर्धारित १२ ओभरको खेलमा ११ ओभरमात्रै खेलेर ६१ रन बनाउँदा अलआउट भयो । उसका लागि अनिल अधिकारीले सर्वाधिक २१ रन जोडे । जवाफी ब्याटिङमा उत्रिएको खेलकुद पत्रकारको टोलीले ९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष पार ग¥यो । खेलमा ५ विकट लिदै व्यक्तिगत १७ रन हानेका खेलकुद पत्रकार मञ्चका सुजन पण्डित म्यान अफ दी म्याच बने । उनले मेडल र नगद ५ सय पुरस्कार पनि पाए ।
विजेता टोलीलाई आयोजक भरतपुर फुटबल क्लबले ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान ग¥यो । क्लबका अध्यक्ष अनिल अधिकारीले मञ्चका अध्यक्ष विनोदबाबु रिजाल र महासचिव दिपेन्द्र अधिकारीलाई नगद हस्तान्तरण गरे ।

फाइनल भोलि

पहिलो सिएमसी मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल भोलि असोज २९ गते आइतबार हुँदैछ । अन्तिम प्रतिस्पर्धामा वडा नम्बर २५ र वडा नम्बर १० को ‘बी’ टिम प्रतिस्पर्धा गर्दैछन् । विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कारसँगै ट्रफी पाउनेछन् । प्रतियोगितामा १९ टिम सहभागी थिए ।

महानगरले सहयोग गरेन ः अधिकारी

आयोजक क्लबका अध्यक्ष अनिल अधिकारीले प्रतियोगितामा प्रतिबद्धता जनाएर पनि भरतपुर महानगरपालिकाले सहयोग नगरेकोमा दुखेसो पोखे । “२० वर्षपछि स्थानीय चुनाव भएको खुसियालीमा प्रतियोगिता गरेका हौं । मेयरको नाम जोडेर खुयिसाली मनाएका छौं”, उनले भने, “उहाँहरुले नै ल गर्नुहोस्, हामी सहयोग गर्छौं भन्नुभएर कार्यक्रम गरेका हौं । तर, प्रतियोगिता सकिन लाग्दा पनि सहयोग भएको छैन ।” उनले महानगरबाट नगद पुरस्कार सहयोग प्राप्त हुने अपेक्षा आफूहरुले गरेको बताए । क्लबका सल्लाहकार मित्रनिधि तिवारीले पनि पटक–पटक मेयर र उपमेयरसँगको सल्लाहले आफूहरु सहयोग प्राप्त हुनेमा ढुक्क भएको तर अहिलेसम्म नपाएकोमा खिन्न हुनुपरेको बताए ।
प्रतियोगितामा पुरस्कारमा मात्रै १ लाख रुपैयाँ खर्च हुने अधिकारीले बताए । मुख्य प्रायोजक चितवन मेडिकल कलेज (सिएमसी)ले डेढ लाख रुपैयाँ दिएको छ । त्यसबाहेक अरु कुनै सहयोग प्राप्त नभएको कारण प्रतियोगिता सञ्चालन गर्न आर्थिकरुपले निकै संकट भएको अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया