निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउने प्रमुख दलको प्रतिवद्धता

काठमाडौं – प्रमुख राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा गर्ने प्रतिवद्धता जनाएका छन् ।

राजधानीमा आज प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रमुख दलका नेताले तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मंसिर १० गतेको पहिलो चरणको निर्वाचन सर्ने हल्लाका बीच निर्वाचन आयोगले आज चुनावको सुनिश्चितताबारे दलको प्रतिवद्धता मागेको हो । निर्वाचन आयोगले चुनावका लागि केन्द्रीयस्तरमा गर्नुपर्ने कामको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

आयोगसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली कांग्रेस र सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गराउन दलहरुको प्रतिवद्धता चाहेकाले तोकिएकै मितिमा चुनाव गराउन आफुहरुको सहमती र समर्थन रहेको बताउनुभयो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सबै दल प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन तयारी, आचारसंहिता पालनाबारे आयोगले जानकारी गराएको बताउनुभयो । पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आगामी आइतवार मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित