चिकित्सा शिक्षा विधेयकमा सहमति खोज्न तीन दल बैठकमा

काठमाडौं – चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तीको आह्वानमा अहिले प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भईरहेको छ ।

ब्यवस्थापिका संसदको अन्तिम बैठक भोली बस्ने भएपछि सो अगावै चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुख घर्तीले अन्तिम प्रयास गर्नुभएको हो । बैठकस्थलबाट प्रधानमन्त्री शेरबहादुर देउवा बाहिरिएपनि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु भने सहभागी हुनुहुन्छ ।

अनशनस्थल राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट अपिल जारी गर्दै डा. गोविन्द केसीले आफ्नो विशेषाधिकार प्रयोग गरी विधेयक प्रस्तुत गर्न आग्रह गर्नुभएको थियो । प्रमुख दलबीचको बैठक जारी रहेका कारण अपरान्ह तीन बजेका लागि बोलाइएको संसद बैठक समेत प्रभावित भएको छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिबाट पारित भएअनुसार विधेयक अगाडि बढाउनु पर्ने एमाले र माओवादी केन्द्रको अडानका कारण विधेयक कार्यसूचीमा चढ्न सकेको छैन । माथेमा आयोगको प्रतिवेदनअनुसार सरकारले चिकित्सा शिक्षा विधेयक पारितको प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेपनि सत्तारुढ दलकै असहमतिका कारण विधेयक पारितको प्रक्रिया सुरु हुन नसकेको हो ।

पछिल्ला बैठकमा सम्भावित कार्यसूचीमा राखेर पनि विधेयक हटाईदै आईएको छ । दलहरुबीच आज सहमति हुन नसके सो विधेयक संसद सचिवालयमा थन्किने छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित