सभामुख घर्तीद्वारा प्रमुख दलका शीर्ष नेता सहितको बैठक आह्वान

काठमाडौं – चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ ।

संसद बैठक बस्नु अघि अपरान्ह साढे २ बजे सभामुख घर्तीले सहमतिको प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नु भएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । यसअघि सभामुख घर्तीले हिजो शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित तीन दलका प्रमुख सचेतकसहितको बैठक बोलाइ सो विषयमा सहमतिको प्रयास गरेपनि ठोस सहमति भने जुट्न सकेको थिएन ।

माथेमा आयोगको प्रतिवेदनअनुसार सरकारले चिकित्सा शिक्षा विधेयक पारितको प्रक्रिया अगाडि बढाउन प्रस्ताव गरेपनि प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्रको असहमतिका कारण हिजो पनि विधेयक संसदमा प्रस्तुत हुन सकेन । सो विद्येयक आज बस्ने बैठकको कार्यसूचीमा समेटेर आजै पारित गर्ने अन्तिम प्रयास सभामुखको छ ।

विधेयक अलपत्र पर्ने सम्भावना बढेपछि डा. केसीले विशेष अधिकार प्रयोग गरेर भए पनि चिकित्सा शिक्षा विधेयक अघि बढाउन सभामुखलाई आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित