त्रिकोणात्मक प्रतिस्पर्धामा एनआरएन

यतिबेला राजधानीमा सुकिला मुकिला मान्छेहरुको चहलपहल निकै बढेको छ । एनआरएनको महाधिवेशनका लागि बिश्वभरिबाट आएका एनआरएनहरुको ध्यान अहिले मुलतः एक थान अध्यक्ष कसलाई चुन्ने भन्नेमा केन्द्रित छ । मुलुकको समृद्धिका लागि हो भने एनआरएनको संस्थागत एवं संरचनागत हिसाबले सुधार हुनु जरुरी छ, त्यसपछि मात्र नेतृत्वको कुरो आउँछ । एनआरएनको इतिहासलाई हेर्ने हो भने जुन उद्देश्यका साथ डा. उपेन्द्र महतोहरुले यो अभियानको सुरु गरेका थिए सोहीअनुसार अगाडि बढ्ने दिशामा एनआरएन बेला बेलामा चुकेको देखिन्छ । नीति र योजना केन्द्रित हुनुपर्नेमा हरेक महाधिवेशनमा नेतृत्वकै होडबाजीले चर्चा र स्पेश पाउने गरेको पाईन्छ ।

दसैलाई बिदाइ गरेको र झिलिमीलीको पर्व तिहारको पूर्व सन्ध्यामा अर्थात मध्य अक्टोबरको घमाईलो मौसममा एनआरएनको महामेला राजधानीमा सुरु हुँदै छ । नेतृत्वका लागि हालसम्म तीन आकाँक्षी देखिएका छन् । जापानका ब्यवसायी हालका उपाध्यक्ष भवन भट्टले धेरै अगाडिदेखि अध्यक्षको दाबेदारकारुपमा आफुलाई उभ्याउँदै आएका छन् भने उता मध्यपूर्वबाट टिबी कार्की पनि आकाँक्षी देखिएका छन् । कार्की अघिल्लो महाधिवेशनमा शेष घलेसंघ पराजित भएका थिए । यसैगरी चर्चामा रहेकी तर सार्बजनिक घोषणा नगरीकन ’पर्ख र हेर’ को अवस्थामा रहेकी अध्यक्ष घलेकी पत्नी जमुना घलेले पनि बिहीबार अध्यक्षको उम्मेदवारी घोषणा गरेकीछिन् ।

अब बाँकी रहेको केही दिनभित्र कुनै चामात्कारिक परिवर्तन नभएमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने लगभग निश्चित जस्तै छ । एनआरएन जापानको सदस्य हुँदै एक कार्यकाल जापानको अध्यक्ष र एक कार्यकाल आइसीसीको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष रहीसकेका भट्टको नेतृत्वमा दावी हरेक हिसाबले स्वभाविक देखिन्छ । उपाध्यक्ष भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्तको उम्मेदवारी निकै महंगो पर्ने चौतर्फी आंकलन गरिरहेकै बेला भट्टलाई समर्थन गर्दै पुनः उपाध्यक्ष दोहोर्‍याउने पन्तको प्रतिबद्धताले भट्टलाई नेतृत्वको नजिक पुग्न मार्ग प्रशस्त गरेको थियो । तर लामो मौनतापछि जमुनाको उम्मेदवारीले फेरि भट्टलाई सकस पर्न सक्ने देखिन्छ । जमुना अष्ट्रेलियाको धनाढ्यहरुको सूचीमा दरिएकी नेपाली महिला हुन । चार वर्षको कार्यकालबाट बहिर्गमन हुँदै गर्दा शेष घलेका महत्वाकाँक्षी तर अधुरा आयोजनाहरुका कारण जमुना घलेको उम्मेदवारी आएको देखिन्छ । जानकारहरुका अनुसार बाहिर नदेखिए पनि घलेले नेतृत्व सम्हालेदेखि नै एनआरएनभित्र तिब्र ध्रुबीकरण सुरु भईसकेको थियो । घलेको लोकप्रियता, कार्यसम्पादन र खटनपटनबाट आफु ओझेलमा पर्न सक्ने भयले सुरु देखिनै संस्थापन पक्ष त्यति धेरै सन्तुष्ट थिएन । यसकारण पनि घलेले पूर्व अध्यक्षहरु लगायत मौजुदा कार्यसमितिबाट अपेक्षित सहयोग नपाएको गुनासो घलेले बेला बेलामा सार्बजनिक गर्दै आईरहेका थिए । अर्कोतिर कार्यशैलीमा मनोमालिन्य हुने गरेको आरोप खेप्दै आएका अध्यक्ष घले पनि एकप्रकारले एक्लिदैं आएका थिए । श्रीमतीलाई अध्यक्षको उम्मेदवार बनाउनु भनेको श्रीमती बाहेक अरु बिश्वासिला पात्र नपाउनु हो भन्ने अर्थ पनि लगाउन सकिन्छ । यस अर्थमा जमुनाको उम्मेदवारी सही वा गलत भन्दा पनि उनले मतादाताहरुलाई रोज्ने अप्शन दिएकीछिन् । अप्शन पाएपछि मतदाताहरुको स्वभावअनुसार बहकिन पनि सक्छन् । यसकारण पनि नेतृत्वको चयन यसपाली निकै पेचिलो बन्ने देखिन्छ । एनआरएन भवन, लाप्राक एकीकृत नमुना बस्ती, भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड लगायतका घलेका अधुरा योजनालाई पुरा गर्ने र एनआरएनमा महिला सशक्तिकरणको मुद्दालाई जोडतोडले उठाउने जमुनाले चुनावी एजेण्डा बनाएकी छन् ।
यता भट्टले आफ्नो नेतृत्वसंगै अभियानमा नयाँ युगको सुरु हुने उदघोष गरेका छन् । मुलुकबाहिरका विद्वतहरुको थिङ्क ट्याङकको रुपमा एनआरएन एकेडेमी बनाएर मुलुकको समृद्धिमा उपयोग गर्ने र नेपालमा गैर आवासीयहरुको थप लगानी भित्र्याउन सहज वातावरण निर्माण गर्ने भट्टको योजना छ ।
उता कार्कीले बिदेशमा रहेका नेपालीहरुका समस्या सम्बोधनमा एनआरएनले बिशेष ध्यान दिन जरुरी रहेको भन्दै यस दिशामा आफुले बिशेष पहल गर्ने, नेपालमा लगानी भित्र्याउन प्रभावकारी संयन्त्रको निर्माण गर्ने र सुरक्षित लगानीको लागि वातावरण निर्माण गर्न सरकारसंग लबिङ गर्ने जस्ता चुनावी एजेण्डा अगाडि सारेका छन् ।
सुन्दा त्यति मीठो नलागे पनि राजनैतिक रंग, क्षेत्रीय तथा भेगीय निकटता र जातीय गन्धले त्रिकोणात्मक प्रतिस्पर्धामा निर्णायक भूमिका खेल्ने प्रष्ट छ । जब जब हामी नेपालीहरु अभिमत जाहेर गरेर प्रतिनिधि रोज्ने संघारमा आईपुग्छौ तब वैचारिक आस्थाको आधारमा बिभाजित हुन्छौं, क्षेत्रीय मुद्दा पेचिलो बनाईन्छ अनि साम्प्रदायिक नारा बुलन्द पारिन्छ । नेपाली समाज यही स्कुलिङबाट प्रशिक्षित हुँदै आएको छ । त्यसैले त भनिन्छ, चुनाव जित्नेहरु सबै राम्रा हुँदैनन् अर्थात मतदाताहरु सबैले स्वविवेकले राम्रा मान्छेलाई मात्र मतदान गर्छन् भन्ने कुनै ग्यारेन्टी छैन । त्यसकारण चुनावमा जाने भैसकेपछि सकेसम्म र मिलेसम्म तीनवटा ’प’ सबैले उपयोग गर्न खोज्छन् नै ती हुन, प्रतिष्ठा, पैसा र पावर ।

जापानले धेरै पोष्टमा लोभ गर्नुहुँदैन
नेतृत्वका लागि पेचिलो बन्दै गएको यसपालीको एनआरएन महाधिवेशनमा अध्यक्षको बलियो दाबेदारकारुपमा रहेका भवन भट्टको देश जापानबाट भने आधा दर्जन उम्मेदवारहरु मैदानमा उत्रने भएका छन् । भुँइको टिप्न खोज्दा पोल्टाको पनि पोखिन सक्ने कुरालाई जापानका एनआरएनकर्मीहरुले हेक्का राख्न जरुरी छ । जापानबाट उम्मेदवारी दिने घोषणा सार्बजनिक गरेकाहरुमा अध्यक्षमा भवन भट्ट, उपाध्यक्षमा चिरिञ्जीवी थापा, एशिया संयोजकमा २ जना किरणविक्रम थापा र रोविन्दप्रसाद श्रेष्ठ, उपसंयोजकमा पारसमणि पोखरेल र युवा संयोजकमा सुदन थापा रहेका छन् । घरभित्र जे जस्तो भए पनि अन्तराष्ट्रमा जापानले मेलमिलाप र एकताको सन्देश दिन सक्नुपर्थ्यो तर त्यो देखिएको छैन । जापानले दावी नै गर्ने हो भने सचिव, कोषाध्यक्ष, महासचिव जस्तो कामकाजी र प्रभावशाली पदहरुमा दावी गर्न सक्नुपर्थ्यो । नढाँटीकन भन्नुपर्दा बाहिरबाट हेर्दा काम गर्न नपर्ने, नाम मात्र आउने अल्छी पदहरु मात्र रोजेजस्तो देखिन्छ । यसबाट जापानबासी नेपालीहरुको विद्वताको पनि मापन भएको अनुमान लगाउन सकिन्छ । यसतर्फ जापानका सिनियर एनआरएनकर्मीहरुको बेलैमा समन्वयकारी भूमिका अपेक्षित थियो । जापानको पोल्टामा अहिले मुल नेतृत्व लिने बिषय महत्वपूर्ण हो, अन्य सहायक बिषयले मुल बिषयलाई असर पार्न सक्ने संकेतहरु सतहमा देखा परिसकेका छन् । जापानले धेरै पदहरुमा लोभ देखाउने बेला यो होइन । पाईन्छ भन्दैमा सबै पोष्ट जापानले मात्रै लिन पनि हुँदैन । बिश्वभरिबाट प्रतिनिधित्वको पनि कुरा छ । त्यसैले भुँइको टिप्न खोज्दा पोल्टाको गुमाउन पर्ने अवस्था नआओस् भन्ने अहिलेको मुल प्रश्न हो । उसो त कामै गर्नका लागि पद मात्रै पनि सबै चीज होईन ।***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित