डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच आज वार्ता हुँदै

काठमाडौं –  चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारी पक्षबीच आज वार्ता हुँदैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले केहिबेरमा वार्ता हुने डा. केसीका सहयोगी डा. अभिषेक सिंहले जानकारी दिनुभयो ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव ङईन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा बनाईएको वार्ता टोलीमा स्वास्थ्य सचिव किरण रेग्मी र निमित्त शिक्षा सचिव डिल्लीराम रिमाल हुनुहुन्छ ।

यस्तै डा. केसीका तर्फबाट वाइपी सिंह, कश्यप श्रेष्ठ, अभिषेक सिंह र अधिवक्ता ओमप्रकाश अर्याल वार्तामा सहभागी हुनुहुने बताइएको छ । चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसार हुनुपर्ने सहितका माग गर्दै डाक्टर गोविन्द केसी ९ दिन देखि अनसनरत हुनुहुन्छ ।

१३ औँ पटक अनसनमा बस्नु भएका केसी पक्षसंग सरकारले आज पहिलो पटक औपचारिक वार्ता गर्न लागेको हो । डा. केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै नेशनल रिजिडेन्ट डक्टर्स एसोसिएसनले कालो पट्टी बाँधी काम गर्ने जनाएको छ ।

एसोसिएसनले एक विज्ञप्ती जारी गर्दै सरकारले माग प्रति चासो नदेखाए थप कडा रुपमा प्रस्तुत हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित