मौसमी रुघाखोकीले एकै महिनामा सत्रको मृत्यु

काठमाडौं – मौसमी रुघाखोकीका कारण एक महिना मै काठमाडौं उपत्यका भित्र १७ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो । महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोग पनि थियो । काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको सङ्ख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच १ एन १) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो ।
निर्देशक आचार्य मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताउनुहुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उहाँले आग्रह गर्नुभयो । “सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनुपर्ने नभए पनि सतर्क हुनुपर्छ, जटिलता भएमा मृत्यु हुने खतरा बढी हुन्छ,” उहाँले भन्नुभयो । विगतमा सुँगुरबाट (एच १ एन १) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ ।
खासगरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समयमा देखिने भए पनि पछिल्लो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका सङ्क्रमित देखिने गरेका छन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित