एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा कोरियाबाट विनोद कुँवरको दावी

टोकियो – गैर आवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय सञ्जाल एनआरएनएको आठौं महाधिवेशन यो साता काठमाडौंमा हुँदै छ । ग्लोबल सम्मेलनकारुपमा हरेक दुई वर्षमा बिशेष महत्व पाउने गरेको एनआरएनको महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्दै आगामी नीति तथा कार्ययोजनाहरु तय गर्दै आईरहेको छ ।

महाधिवेशन नजिकिदैं गर्दा विभिन्न पदमा आफ्नो उम्मेदवारी सार्बजनिक गर्ने क्रम तिब्र गतिले बढिरहेको छ । नीति तथा कार्ययोजना भन्दा नेतृत्व चयनले बिशेष महत्व पाउने गरेको एनआरएन सम्मेलनको पूर्व सन्ध्यामा अहिले संसारभरिका एनआरएनहरु राजधानीमा भेला भईसकेका छन् र हुने क्रम जारी छ । राजधानीका तारे होटलदेखि सामान्य होटल, लज, गेष्टहाउसहरुमा अहिले एनआरएनहरुको चहलपहल ह्वात्तै बढेको छ ।

यसैबीच एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा दक्षिण कोरियाबाट विनोद कुँवरले आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । दुई जनाको स्थान रहेको उपसंयोजकमा जापानबाट पारसमणि पोखरेलले यस अघि नै उम्मेदवारीको घोषणा गरिसकेका छन । एशिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाटै किरणविक्रम थापाले पुन: दोहोरिने आकांक्षा देखाएका छन भने जापानबाटै अर्का रोबिन्दप्रसाद श्रेष्ठ (गोबिन्द) ले पनि उम्मेदवारी दिने भएका छन ।

दक्षिण कोरियामा स्थापित युवा ब्यवसायीकारुपमा परिचित कुँवर एनआरएन कोरियाको संस्थापक अध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष र एक कार्यकाल आइसीसीको जिम्मेवारीमा रहेर एनआरएन अभियानमा सक्रिय छन् ।

विगत २५ वर्षदेखि कोरियामा बस्दै आएका कुँवरले हेर्दाहेर्दै आफ्नै आँखा अगाडि कोरियाले गरेको तिब्र बिकास र प्रगतिले सँधै झकझक्याउने गरेको बताउँछन् । बिदेशमा सिकेका सीप, अनुभव, दक्षता एवं पूँजीलाई आफ्नो मातृभूमिको बिकास र समृद्धिका लागि उपयोग गर्न समन्वयकारी भूमिका एवं जिम्मेवारीमा रहेर अभियानलाई सघाउने र थप योगदान दिने उद्देश्यका साथ आफुले एशिया क्षेत्रीय उपसंयोजकको उम्मेदवारीको घोषणा गरेको कुँवरले बताए ।


कुँवरद्वारा प्रेषित उम्मेदवारी घोषणाको पूर्ण पाठ जस्ताको तस्तै :

एशिया प्यासिफिक उपसंयोजकमा यसकारण मेरो उमेदवारी

नेपालीको लागि नेपाली’ भन्ने मुलमन्त्रका साथ अगाडि बढिरहेको एनआरएनए अभियानलाई स्थापना कालदेखि नै नजिकबाट नियालीरहँदा र दक्षिण कोरियामा एनआरएनएको स्थापना गरी संस्थापक अध्यक्ष हुँदै दुई पटकसम्म अध्यक्ष र आईसीसी सदस्य हुँदा गैर आवासीय नेपाली संघ मार्फत अझै केहि सामाजिक कार्यहरु गरी अगाडि बढ्न अभिप्रेरित भएको छु ।

विश्वभरि छरिएर रहनुभएका नेपाली दाजुभाइ, दिदिबहिनीहरु र नेपालबाहिर रहेर नेपालमा केहि गर्न चाहने व्यक्तिहरुको भावनालाई समेटेर हामी अगाडि बढ्दै गर्दा मैले कर्मभूमि बनाएर बसेको कोरियाले आफ्नै आँखा अगाडि हेर्दा हेर्दै गरेको चमत्कारपूर्ण प्रगतिले मलाई सँधै झकझकाई रहेको छ ।

हाल कोरियामा रहेका करिव ४० हजार नेपाली मध्ये बहुसंख्यक शिक्षित तथा अनुभवी जनशक्ति रहेका छन् । यहाँ सिकेको सीप र कमाएको पुँजी राज्यले उत्पादनशील क्षेत्रमा लगाउन सकेमा देश विकासमा ठुलो टेवा पुग्ने सक्छ भन्ने मान्यतामा म अडिग छु । यसैगरी प्रविधिमा पोख्त मित्रराष्ट्रहरुसँग प्रविधि हस्तान्तरणका लागि अनुरोध गरी देश विकासमा फड्को मार्न सकिन्छ भन्नेमा मेरो दृढ बिश्वास छ । यसैगरी विद्यार्थीहरुको बाहुल्यता रहेको जापानबाट मुलुकमा पर्याप्त सीप र ज्ञान भित्र्याउन सकिन्छ । हङकङ, मकाउ लगायतका मुलुकहरुमा रहेका नेपालीहरु उचित र सुरक्षित लगानीको पर्खाईमा रहेको बुझिएको छ । यी लगायत मलेसियामा काम गरिरहेका उर्जाशील जनशक्ति एसिया प्यासिफिक क्षेत्रका प्रचुर सम्भावनाहरु हुन ।

श्रम समस्या र परिवारबाट टाढा हुँदाका समयमा हुने डिप्रेशन र सोबाट निम्तिने दुर्घटना, अन्य मुलुकको भाषा र समायोजन जस्ता समस्या ठूला समस्या हुँदाहुदै पनि नेपालीहरुको सहयोगी भावना र आपसी भाइचाराको कारण आपसमा मिलेर समाधान हुँदै आईरहेका छन् । यसप्रकारका समस्याहरुको मिलेर सम्बोधन गर्न हामीले यो क्षेत्रमा अझ धेरै कामहरु गर्न बाँकी छ । नजिकबाट नियालिरहेको यस क्षेत्रमा मेरो सहयोग पहिले पनि छ र अझ शसक्त ढंगले हुने छ भन्ने प्रतिबद्धता जाहेर गर्न चाहान्छु ।
प्रवासमा बसिरहनुभएका साथीहरुको समस्याका वारेमा बिगत २५ बर्ष देखिको म आफै एक भुक्तभोगी भएको नाताले आफुले गर्नुपर्ने सहयोगको लागि कुनै कसुर बाँकी नराख्ने बिश्वास दिलाउन चाहान्छु । साथै एनआरएनए मार्फत नेपाल सरकार र सम्बन्धित निकायको ढोका घचघचाई विद्यमान समस्याहरुको समाधानमा दृढ भएर लाग्ने प्रण गरेको छु ।

सबै प्रवासी नेपालीहरुको भावना र प्रतिनिधित्वलाई सुनिश्चित गर्दै विधान संशोधन र व्याख्याका साथै जन्मभूमिमा केहि समस्या पर्दाखेरी एकढिक्का हुने र प्रवासमा आईपर्ने नेपालीका समस्यामा आवश्यक सहयोग गर्ने सन्दर्भमा सदैव मेरो सक्रियता र तत्परता रहँदै आएको छ र निरन्तर रहने छ । यसका साथै विदेशमा सिकेका ज्ञान, सीप, प्रविधी र पूँजीको उचित प्रयोग गरी देश विकासमा हातेमालो गर्ने अभियानमा अझ सशक्त ढंगले लाग्ने प्रण गर्दै एनआरएनए एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक पदका लागि उम्मेदवारीको घोषणा गरेको छु । यहाँहरुको रचनात्मक सहयोग, समर्थन, हौसला एवं सदाशयताको उच्च अपेक्षा गरेको छु । धन्यबाद

विनोद कुँवर
उपसंयोजकको उम्मेदवार
एशिया प्यासिफिक क्षेत्र, एनआरएनए
(दक्षिण कोरिया)

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित