तरंग वाम ध्रुवीकरणको

नेपाली कम्युनिष्टहरु फुट्न मात्र जानेका छन् भन्ने अमिट छाप परेको अन्तर्राष्ट्रिय समुदायमा वाम ध्रुबीकरणको अप्रत्याशित घोषणाले नेपाली राजनीतिमा मात्र नभएर बिश्व समुदायमै नयाँ तरंग पैदा गरेको छ । संगसंगै यसले मुलुकलाई सही दिशातर्फ लैजानेमा आशाको सञ्चार पनि गरेको छ भने अर्कोतर्फ विभिन्न खालका टिका टिप्पणी पनि सुरु भएका छन् ।

’खरानीभन्दा जोगी धेरै’ भनिएझैं नेपाल जस्तो सानो मुलुकमा करिव सयको हाराहारीमा रहेका राजनीतिक पार्टीलाई संबिधानतः ब्यवस्थित गर्न थ्रेसहोल्डको प्रावधान राखिएको छ । जति धेरै पार्टी त्यति जनतालाई सास्ती हुने गरेको वास्तविकताबाट नेपाली जनता भुक्तभोगी छन् । संघ र प्रदेशको निर्वाचन नजिकिदैं गर्दा साना पार्टी आफ्नो अस्तित्व संकटमा पर्दै गएकोमा छटपटी सुरु भईसकेको थियो भने ठूला पार्टी बहुमतको स्थायी सरकार कसरी दिन सकिन्छ भन्ने ध्याउन्नमा तल्लीन हुन थालिसकेका थिए । हालसालै मात्र चरणवद्ध भएका स्थानीय तहको निर्वाचनमा प्राप्त जनमतको आधारमा आफ्नो साइजको भेउ पाईसकेका दलहरुले अब हुने संघ र प्रदेशको निर्बाचनमा कुनै पनि दलले दुईतिहाई बहुमत ल्याउने संभावना नदेखेपछि संभावित विकल्पहरुमा जोड घटाउ सुरु हुनु स्वभाविकै हो । दुईतिहाई बहुमतको स्थायी सरकार बिना बिकास र समृद्धिको एजेण्डा अगाडि बढाउन पनि नसकिने र कार्यकारी राष्ट्रपती लगायतका संबिधानमा आवश्यक संशोधन गर्न पनि नसकिने भएपछि आगामी पाँच वर्ष पनि राजनैतिक अस्थिरताले निरन्तरता पाउने संभावनालाई मनन् गरी वैचारिकरुपले नजिकको पार्टी संग चुनावी तालमेल गर्दै पार्टी एकतासम्म पुग्ने बहसले मूर्तरुप पाएको देखिन्छ ।

यो घटनाले साना साना टुक्रामा बिभाजित भएर रहेका बामपन्थी पार्टीलाई पनि एक पटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ भने आफुलाई लोकतन्त्रको पहरेदार दावी गर्ने देशकै पुरानो पार्टी नेपाली काँग्रेसलाई पनि झस्काएको छ । नेपाली राजनीति अब वाम शक्ति र प्रजातान्त्रिक शक्ति गरी मुलतः दुई शक्तिबीचको ध्रुवीकरण तर्फ अगाडि बढेको छ । तत्कालका लागि चुनावी तालमेल र तत्पश्चात पार्टी एकताका लागि देशका ठूला बाम शक्तिहरु सहमत भएका छन् ।

पटक पटक आपसमा फुट्दै नेपाली काँग्रेसको बैशाखी बन्दै आईरहेका वामपन्थी दलहरुलाई ढिलै भएपनि चेत खुलेपछि बनेको समीकरणले अब मुलुकलाई राजनीति स्थिरता दिन सक्ने अपेक्षा गर्न सकिन्छ । विकासको लागि अनिवार्य सर्त राजनीतिक स्थिरताका मानिन्छ । राजनीतिक दलहरु धेरै हुँदा अनुत्पादक नेता धेरै बन्ने र उनीहरूले व्यक्तिगत स्वार्थका लागि राजनीतिलाई उपयोग गर्ने गरेको विगतको अनुभवबाट पाठ सिक्दै ठूला दलहरुबाटै एकताको लहर प्रारम्भ हुनुले देशलाई हानी गर्दैन । ठूला दलहरुबीच एकता हुँदा दोस्रो पुस्ताका धेरै नेताहरुको राजनीतिक भविष्य संकटमा पर्न सक्दछ, त्यसकारण पनि छिटफुथ असन्तुष्टिका बाछिटाहरु सतहमा देखा पर्न थालेका छन् । यद्यपी समयको माग र राष्ट्रहितका लागि पार्टीबीचको ध्रुबीकरणलाई अन्यथा लिईनुहुँदैन ।

संसारकै बिकसित राष्ट्रहरुबाट पनि नेपालले सिक्न जरुरी छ कि पार्टी धेरै भएर देशको बिकास हुने होइन । यी सबै दृष्टान्तहरुबाट अगाडि बढ्दै नेपालका दुई ठूला बामपार्टी नेकपा एमाले र माओबादी केन्द्र अनि नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकताको आधार तयार गर्न चुनावी तालमेलबाट ध्रुबीकरणको यात्रा सुरु गरेका छन् । सत्ता प्राप्तीका लागि मात्र चुनावी तालमेल नभएर बृहत वाम एकताका लागि त्याग र समर्पण गर्न तत् तत् दल र तिनका नेतालाई सद्बुद्धि मिलोस् शुभकामना !

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित