जापानका नेपालीलाई अनलाइनबाट स्वास्थ्य सेवाका बारेमा जानकारी

टोकियो –जापानमा रहेका नेपालीहरुलाई भाषाकै कारण स्वास्थ्योपचारमा समस्या नहोस् भन्ने उदेश्यले जापानका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुले इन्नो सेवा हेल्पलाइन संचालनमा ल्याएका छन् ।
विभिन्न पेशा व्यवसाय र अध्ययनरत नेपालीहरुलाई भाषाको कारण स्वास्थ्य उपचारमा समस्या देखिएकाले आफुहरुले अनलाइन प्रविधिमार्फत सेवा प्रदान गर्ने गरी हेल्पलाइन सुरु गरिएको लामो समयदेखि जापानमा बस्दै आएका चिकित्सक लगाएतको टोलीले जनाएको छ ।
जापानमा कार्यरत नेपालीहरुमा भाषाका कारण आफ्ना समस्या भन्न नसकेर उपचारमा समस्या झेल्नु नपरोस् भन्ने ध्येयले फोन, मोबाइल र अन्य प्रविधिमार्फत हुने असहजतालाई सहज बनाउनका लागि अनलाइन प्रविधि अपनाइएको बताइएको छ ।
जापानका उच्चस्तरीय अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले शुरु गरेको यो प्रविधिअन्तर्गत निःशुल्क रुपमा समस्या सुन्ने, जापानी भाषामा उल्था गर्ने र सम्बन्धित अस्पतालबारे जानकारीलगायतका काम हुने डा न्यौपानेले बताउनुभयो ।
विशेषज्ञ भिकित्सकहरुको टोलीमा डाक्टर उज्वल न्यौपाने, लुसन चालिसे, प्रविधिक इन्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठ रहेका छन् । त्यसैगरि डा सन्दिप शाक्य, दीपेन्द्र गौतम, मेलिसा रञ्जित र विजय ज्ञवालीसमेत गरी नौ जनाको समूहले स्वास्थ्य समस्या र जीवनयापनको उपायबारे जानकारी गराइरहेको बताइएकोछ ।
जापानमा स्वाथ्य बिमालाई अनिवार्य जस्तै गरिएको छ । यसको प्रभावकारीतालाई बुझ्न नसक्दा धेरैले समस्या व्यहोर्नु परेको देखिन्छ । ३० प्रतिशतमात्र स्वयम् बिरामीले रकम तिरे पुग्नेमा यसको जानकारीकै कमीका कारण उपचार नै नगरी समस्यामा पर्ने गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित