बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – गत बुधबार गुगलले आफ्नो नँया स्मार्टफोन पिक्सेल २ सार्वजनिक गर्‍यो । तर त्यो स्मार्टफोनसँगै सार्वजनिक गरिएको वायरलेस इयरफोनले भने बढी चर्चा पाएको छ ।

यसको खास कारण हो, त्यो इयरफोनको अनुवाद क्षमता । सो इयरफोनको सहयोगमा एकअर्काको भाषा नजानेका दुई व्यक्तिले सहजै कुराकानी गर्न सक्नेछन् । ‘पिक्सेल बड्स’ भनिएको सो इयरफोनले उही समयमै ४० भाषाको अनुवाद गर्न सक्दछ। र अर्को सुखद् पक्ष के छ भने भाषाहरुको सूचीमा नेपाली पनि अटाएको छ ।

बुधबार गुगलको कार्यक्रममा पिक्सेल बड्स लगाएका दुई फरकभाषी व्यक्तिले डेमो दिएका थिए । जसमध्ये एक अंग्रेजीभाषी र अर्को स्वीडिस थिए। दुवैले आआफ्नो भाषामा कुरा गरे र इयरफोनले तुरुन्तै त्यसलाई अनुवाद गरिदियो । पिक्सेल बड्सको नेपाली अनुवाद चाहिँ कस्तो हुनेछ, यसै भन्न सकिन्न ।

भाषा अनुवादका अलावा पिक्सेल बड्सको माध्यमबाट प्रयोगकर्तालाई गुगल असिस्टेन्टले नोटिफिकेसन, मेसेज पनि दिन सक्छ । प्रयोगकर्ताले आफूलाई भाषा अनुवादको आवश्यकता परे दायाँतिरको इयर बडमा छोएर ‘मलाई फलाना भाषा बोल्न सहयोग गर’ भने मात्रै पुग्छ । अथवा पिक्सेल बड्सलाई छोएर वा बोलेर पनि निर्देशन दिन सकिन्छ। दायाँतिरको बड्समा यसको सम्पूर्ण नियन्त्रण राखिएको छ ।

पिक्सेल बड्सलाई एक पटक चार्ज गरेर पाँच घण्टासम्म चलाउन सकिन्छ । अमेरिकामा यसको मूल्य १५९ डलर रहेको जनाइएको छ । यदि अहिले भनिएझैँ वा स्टेजमा देखाइएझैँ सरल तरिकाले पिक्सेल बड्सले काम गर्ने हो भने यसले बजारमा तहल्का पिट्ने अनुमान गरिएको छ ।

गुगलको स्मार्टफोनहरु पिक्सेल २ र पिक्सेल २ एक्सएलको मूल्य भने क्रमशः ६४९ तगा ८४९ डलर राखिएको छ । गुगलका यी उत्पादनहरुको प्रिअर्डर खुला गरिएको छ, जुन नोभेम्बरको सुरुदेखि बजारमा उपलब्ध हुने जनाइएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया