शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – रिस नउठ्ने मान्छे संसारमा कोही छैन होला । धेरै–थोरै रिस सबैलाई उठ्छ, तर निरन्तर रिसाउनु भने स्वास्थ्यका लागि राम्रो कुरा पटक्कै होइन । रिसले शारीरिक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ ।

बढी रिसाउने मानिसको अरू व्यक्तिसँग सम्बन्ध बिग्रनुका साथै कुनै व्यापार, व्यवसाय गरेको खण्डमा त्यसमा समेत नराम्रो धक्का पुग्न सक्छ । त्यसैले सकेसम्म रिसलाई सधैँका लागि गायब पारौँ । रिस उठेको उठ्यै गर्छ, तर कम हुँदैन भने तलका केही टिप्स पढ्नुहोस्, सायद कम हुन सक्छ :

चिसो पानी पिउनुहोस्
यदि तपाईंलाई निकै रिस उठ्छ भने सकेसम्म धेरै पानी पिउने गर्नुहोस् । रिस उठ्दा प्रायः मानिसको दिमाग तात्छ र मुटुको धड्कन बढ्छ । यस्तो अवस्थामा चिसो पानी पिउँदा पनि दिमाग ठन्डा हुन्छ । मन
शान्त रहन्छ ।

ध्यान गर्नुहोस्
ध्यान गर्नु समग्र स्वास्थ्यका लागि फाइदाजनक कुरा हो । निरन्तर ध्यान गर्ने मानिसमा निकै कम मात्रामा रिस उठ्ने अध्ययनले देखाएको छ । ध्यान गर्ने व्यक्तिले सहज ढंगबाट रिसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ ।


डायरी लेख्ने
डायरी लेख्ने बानी कत्तिको छ ? सायद धेरैमा छैन होला । यदि तपाईंलाई निकै रिस उठ्छ भने अब डायरीमा टिप्ने गर्नुहोस् । तपाईंले आफ्नो छुट्टै प्रकारको डायरी बनाउनुहोस्, जहाँ यी विषय मात्रै समावेश होस् ।

निरन्तर डायरीमा टिप्ने बानीले रिस उठ्नुको कारण पत्ता लगाउन मद्दत पुर्‍याउनुका साथै नकारात्मक कुराको समेत अन्त्य गर्न सहयोग गर्छ ।

शास्त्रीय संगीत सुन्ने
अन्य संगीतको तुलनामा शास्त्रीय संगीतले मानिसमा एकचित्त बनाउने र खुसी प्रदान गर्ने विभिन्न अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ साउथ अलाबामाका मनोवैज्ञानिकहरूले कलेजका ५६ जना विद्यार्थीलाई विभिन्न विधाका संगीत सुनाएका थिए । उक्त संगीत
सुनेपछि ५६ जना विद्यार्थीले नै आफूहरूमा निकै परिवर्तन आएको बताएका थिए ।

गहिरो श्वास लिने र छाड्ने
नाकबाट श्वास लिनुहोस् । झन्डै पाँच सेकेन्डपछि फ्याक्नुहोस् । तत्कालै तपाईंले शान्त महसुस गर्नुहुन्छ । नपत्याएको खण्डमा यो कुरालाई कुनै पनि वेला प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया