बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

आज म अत्यन्तै खुशी छु, खुशी यसकारण छु कि जब म पढ्ने बेलामा कुनै पाठ्य सामाग्रीको खोजीमा ज्यादै भौतारिनुपरेको थियो, तर आज सूचना प्रबिधीको प्रयोग गरी पुस्तकालय बनाउन लागिपरिरहेका छौं र आवश्यकता अनुसारको पाठ्य सामाग्री अहिलेका भाइबहिनीहरुलाई हस्तान्तरण गर्न पाईरहेका छौं जसले गर्दा उत्कृष्ट शिक्षा प्राप्त गर्न सकेकाछन् । प्रवासबाटै भए पनि जिल्लाको शिक्षाजस्तो पबित्र क्षेत्रमा काम गर्न पाउँदा खुशीको सीमा नै छैन यस कार्यमा जिल्लामा बसेर प्रत्यक्ष सहयोगी भूमिका निभाउनुहुने ब्यक्तित्वहरुले गर्दा अझै हौसला बढिरहेको छ यसका लागि तपाईहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु ।

बर्तमान समयमा नेपालमा विद्युतीय पुस्तकालयको निकै माग भइरहेको छ । एक्काइसौं शताब्दीको करिव मध्यतिर आईपुग्दा नेपालको पुरानो शिक्षा प्रणाली नै प्रभावकारी भएन भन्ने गुनासो आहिरहँदा अब यसले त्यो गुनासोलाई चिर्ने छ । एउटा कालो पाटीमा सेतो ढुंगाले खुल्ला आकाशमुनी बाह्रखरी सिकेका हामी नेपाली समयसंगै वर्तमान समयसम्म आईपुग्दा प्रबिधीको माध्यमबाट विश्वलाई नै एकैठाउँबाट नियाल्न सकिने भएका छौं ।

विगतमा आर्थिक अवस्था कमजोर भएका र सिमान्तकृत वर्गका ब्यक्तिहरु पढ्न लेख्न अवसर पाएका थिएनन् । एकातिर पाठ्य सामाग्रीको अभाव थियो भने अर्कोतिर शैक्षिक संस्थाहरु पर्याप्त खुलेका थिएनन् । बजारमुखी शैक्षिक पद्धतिको पनि विकास भईसकेको थिएन । जुन परिवार सम्पन्न थियो त्यही परिवारका सदस्यलाई मात्र सहजरुपमा पढ्ने वातावरण हुन्थ्यो तर पढ्नुपर्छ भन्ने मान्यता भएकालाई भने आर्थिक, सामाजिक तथा भौगोलिक कारणले गर्दा शिक्षाबाट बञ्चित हुनुपरेको यथार्थ हामी सबैलाई अवगत भएकै कुरा हो ।

सूचना र सञ्चार प्रविधिको विश्वव्यापी रुपमा आएको परिवर्तनले नेपालमा नै उत्पादित दक्ष जनशक्तिले विश्वका सम्पन्न देशहरुमा विशिष्ट श्रेणीहरुको हिस्सा ओगटेको छ । प्रविधिले गर्दा आज मानव संशाधन तथा विकास निर्माणको काममा पनि उच्च प्रतिस्पर्धा भईरहेको छ । नेपालमा सूचना प्रविधिको व्यापक प्रयोग भईरहेको अवस्थामा विश्वको विकसित मुलुकमा जस्तै नेपालमा पनि उपलब्ध स्रोत र साधन प्रयोग गरी शैक्षिक पद्धतिलाई अझै प्रतिस्पर्धात्मक बनाउन सकिन्छ भन्ने सोच राखी विद्युतिय पुस्तकालयको आवश्यकता महशुस गरिएको हो। अर्कोतर्फ वर्तमान समयलाई दुरुपयोग गर्दै गुणस्तरिय शिक्षाको नाममा बिभिन्न प्रबिधि परिचालित गरी व्यापक कमाउधन्दा नभएको पनि होइन तर केही यस्ता सामाजिक सेवाभावबाट उत्प्रेरित भएका व्यक्ति तथा संस्थाले समाजमा मार्गदर्शकको रुपमा काम पनि गरिरहेका छन् । शिक्षामा सबैको पहुँच, समानता, गुणस्तर र व्यवस्थापनका क्षेत्रमा विद्यमान विषयमा समस्या तथा चुनौतीलाई सम्बोधन गर्नका लागि विद्युतिय पुस्तकालय अपरिहार्य भईसकेको छ । सबैको पँहुच हुने गरी सरकारी, सामुदायिक एवं निजी लगानीलाई समेत प्रोत्साहित गर्दै एकिकृत शिक्षा प्रणालीको रुपमा रुपान्तरित गराउँदै विभिन्न विज्ञहरुको ज्ञान, सीप र क्षमतालाई एक आपसमा हस्तान्तरण र समायोजन गर्दै आधुनिक प्रविधिबाट विद्यार्थी तथा अभिभावकको ज्ञान तथा ब्यक्तित्व विकासमा विद्युतीय पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

बिद्युतिय पुस्तकालय शिक्षाकेन्द्रित पुस्तकालय हो । यसमा दस्तावेज, किताब, पत्रपत्रिका, अडियो, भिडियो लगायत साझा शिक्षा इ-पाटीद्वारा निर्मित राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तरक्रियात्मक इ-पाठ्य क्रियाकलाप समेत समावेश गरिएका छन् । नेपालको शिक्षा प्रणालीलाई आधुनिकरण गर्दै बिश्वब्यापीरुपमा प्रतिस्पर्धात्मक बनाउन नेपाल लाईबेरी फाउण्डेशनसंग मिलेर बिद्युतीय पुस्तकालय मोनाले सञ्चालनमा ल्याएको हो । जसले गर्दा शैक्षिक क्षेत्रमा मोनाको दमदार उपस्थिति देखिएको छ । पुस्तकालयको प्रयोगले पठनपाठनमा सजिलो गराउँदै प्रभाबकारी ढंगले बिद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुर्‍याईरहेको छ भन्ने हामीलाई लागेको छ । कुनै बेला जब मेरो गुणस्तरिय शिक्षाको चाहना हुँदाहुँदै पनि बिभिन्न समस्या र पाठ्य सामाग्रीको अभावमा भौतारिदै हिड्नुपरेको थियो । एक त पाठ्यसामाग्री नहुने अकोतर्फ भयो भने पनि अर्थहिन सामाग्रीहरु पनि खोज्नका लागि घण्टौ हिड्नुपर्ने यस्तो अवस्था स्वयम भोगेकोले नयाँ पुस्ताले यस्तो समस्याबाट ग्रसित हुन नपरोस् भन्ने हेतुले प्रबिधिको पहुँच पुराई दक्ष जनशक्ति उत्पादन गर्न म स्वयम लागिपरिरहेको छु । ता कि मैले भोगेजस्तो शैक्षिक पीडा अवका पुस्ताले भोग्न नपरोस ।

सूचना प्रबिधिले फड्को मारिरहेको अवस्थामा शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न बिद्युतिय पुस्तकालय सहयोगी हुनेछ । विद्यार्थीहरूमा पढ्ने संस्कृतिको विकास गरी स्वाध्ययन, स्वतन्त्र चिन्तन र स्वतन्त्र अन्वेषणको परिपाटीलाई प्रोत्साहित गर्नका लागि पनि इ-लाईब्रेरी आवश्यक रहेको छ । यसले बिभिन्न व्यक्तिवाट रचित रचनाहरु तथा खोजमुलक पाठ्य सामाग्रीहरूलाई बढीभन्दा बढी पाठकसम्म पुर्‍याई पढ्ने सँस्कृतिको विकास गर्न मद्दत गर्छ । पुस्तकालयमा भएका सामग्रीहरू शैक्षिक प्रयोजनका लागि इन्टरनेटको प्रयोग नगरी जुनसुकै बेला पढ्न, हेर्न र सुन्न सकिने छ जसले गर्दा पाठकको स्मरणशक्तिमा सहज हुनेछ । बिद्युतिय पुस्तकालयमा नेपालको सूचना तथा सञ्चालन र प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा र समान पहुँचका निमित्त शैक्षिक प्रणाली सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसैले आजको आवश्यकता भनेको पुरानो शिक्षा प्रणालीलाई परिस्कृत र परिमार्जित गदै उपलब्ध स्रोत र साधनको उचित प्रयोग गरी पाठकको निहित क्षमतालाई बिकास गरी अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणालीको बिकास गराउनु हो । अन्त्यमा, यस कार्यक्रमलाई सशक्त र कार्यन्वयन गर्न सबै तह र तप्काबाट लाग्नु हुने छ भन्ने विश्वास राख्दै प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु हुने शैक्षिक ब्यत्तित्वहरुलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु ।

(मोना आइसीका कोषाध्यक्ष समेत रहेका लेखक थापा एनआरएन पब्लिक लाईब्रेरी कार्यदलका सदस्य पनि हुन्)

 

तपाईको प्रतिक्रिया