बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं –  सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशत कम गर्ने प्रतिबद्धता जनाउन विश्वभरका स्वास्थ्य नेताहरुको बैठक फ्रान्समा बसिरहेको छ ।

सरकारहरु, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तर्राष्ट्रिय सहायता संस्थाहरुबाट यस्तो खालको प्रतिबद्धता सार्वजनिक हुन लागेको यो पहिलो पटक हो । पछिल्लो समय हैजाको निकै डरलाग्दो महामारीको शिकार यमन भएको छ ।

युद्धका कारण सरसफाईको अवस्था बिग्रिंदा र खानेपानी वितरण प्रणाली अवरुद्ध हुँदा त्यहाँ हैजाको महामारी फैलिरहेको छ ।

भयावह

यमनमा ७ लाख ७० हजारभन्दा बढी मानिस हैजाबाट संक्रमित भएका छन् भने २ हजार जनाको मृत्यु भइसकेको छ । फोहोर पानीबाट फैलिने हैजा रोगबाट विश्वभर बर्सेनि करिब एक लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।हैजातीमध्ये अधिकांश अफ्रिका र एसिया महादेशका हुन्छन् । ‘भाब्रिओ कोलरा’ नामक जीवाणु मिसिएको खाना वा पानीबाट हैजा हुने गर्छ र धेरै भीडभाड तथा फोहोर भएको स्थानमा यो छिटै फैलिन्छ।

सामना

पुनर्जलीय झोल दिएर हैजा लागेको बिरामीको उपचार गर्न सकिन्छ र स्वच्छ पानी एवं सफा शौचालयको प्रयोगले हैजा लाग्नबाट जोगिन सकिने विज्ञहरु बताउँछन् ।

उनीहरु भन्छन्, खासगरी द्वन्द्व र प्राकृतिक विपद्का बेला हैजाको सामना गर्न त्यसको औषधि यथाशीघ्र उपलब्ध गराउनुपर्छ । डब्ल्यूएचओका अनुसार विश्वभर २ अर्ब मानिसको स्वच्छ पानीमा पहुँच छैन र उनीहरु सम्भवतः हैजाबाट संक्रमित हुने जोखिममा छन् ।

हैजासम्बन्धी डब्ल्यूएचओको कार्यक्रमका प्रमुख डोमिनिक लेग्रोले भने, “हामीले हरेक वर्ष व्यापक रुपमा हैजा फैलिएको हेरेर बस्न सक्दैनौँ। हामीसँग त्यसलाई रोक्ने उपाय छ र त्यसको प्रयोग गर्नुपर्छ ।”बीबीसी

तपाईको प्रतिक्रिया